मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस महिनामा हुने भएको छ । गाउँपालिकाको वार्षिक क्यालेण्डर अनुसार आठौँ संस्करणको प्रतियोगिता अगामी पुस महिनामा हुन लागेको बागमती गाउँपालिका शिक्षा शाखाका प्रमोद राईले जानकारी दिए ।
प्रतियोगिता पुस ११, १२ र १३ गते हुनेछ । छात्र र छात्राको भलिबल, फटवल, कबडी, दौड, हाइजम्प, लङजम्प, कराँते, तेक्वान्दो र उसु छुट्टाछुट्टै खेलाइनेछ । यो वर्ष फुटबल र उसुलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलोपटक समावेश गरिएको शिक्षाशाखा प्रतिनिधि राईले बताए । बागमती गाउँपालिकाले शुक्रबार सूचना जारी गरी गाउँपालिकाभित्रका विद्यालयलाई सहभागी हुन आह्वान गरेको छ । प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म नियमित अध्ययनरत १८ वर्षभन्दा मुनिका विद्यार्थीले मात्र सहभागी हुन पाउनेछन् । भलिबल र कबडीको प्रत्येक टिममा बढीमा ९÷९ जना र फुटबलमा १८/१८ जना खेलाडी राख्न पाइनेछ । एथ्लेटिक्सतर्फ एक इभेन्टमा २ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् । टिम खेलमा एउटा खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउनेछन् ।
भलिबल र कबडीमा अलग अलग खेलाडीको टिम हुनुपर्नेछ । टिम खेलमा एउटा विद्यालयबाट एक टिममात्रै सहभागी हुन पाउनेछ । खेलाडीको बसोबास, यातायातलगायत अन्य खर्च सहभागी विद्यालय स्वयम्ले व्यर्होनुपर्नेछ । सहभागी खेलाडीले अनिवार्यरुपमा ड्रेसमा खेल खेल्नु पर्ने बताइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका (पाचौँ संशोधन) को दफा २ (घ) बमोजिमका खेलाडी तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले ट्रफी र पदक प्राप्त गर्नेछन् । पदक प्राप्त खेलाडी तथा टिमले जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले जिल्लास्तरीय प्रतियोगितामा अनिवार्य भाग लिनु पर्नेछ । प्रतियोगिता बागमती–४, झुरझुरेस्थित सहिदस्मृति रंगशालामा हुनेछ ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्