पशु सेवा कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । १३ कार्तिकमा कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख डा. व्रज किशोर ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

पत्रकार सम्मेलनमा डा. ठाकुरले विगत एक आर्थिक वर्षमा कार्यालयले गरेका काम, उपलब्धि तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै कुल ३ लाख ३ हजार २४५ रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए। उक्त राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट १ लाख ८४ हजार ६८५ रूपैयाँ, प्रशासनिक दण्ड–जरिवाना तथा जफतबाट १ लाख ८ सय रूपैयाँ र बेरुजु असुलीबाट १७ हजार ७६० रूपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।

डा. ठाकुरले कार्यक्रममा बोल्दै गाई–गोरु तस्करी नियन्त्रणका लागि कार्यालयले सशक्त रूपमा काम गरिरहेको बताए। उनका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा ४ जना तस्करलाई पक्राउ गरी मुद्दा दायर गरिएको छ। उच्च ओहोदाका व्यक्तिहरूसमेत तस्करी र भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि ठूला राजनीतिक दल र समाजका अग्रज व्यक्तित्वबीच हातेमालो गरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे।

उनले थप भने, “गाई–गोरु तस्करीमा संलग्न उच्च पदस्थ व्यक्तिहरूको पहिचान र नियन्त्रण आवश्यक छ। आफ्नालाई काखी च्याप्ने र अरूलाई पाखा फाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।”यो कार्यालय २०३७ सालमा बाख्रा विकास कार्यालय, हेटौंडा का रूपमा स्थापना भएको हो।२०५२ देखि २०७२ सम्म यसले जिल्ला पशु सेवा कार्यालय, मकवानपुर का रूपमा सेवा दिएको थियो।

२०७५ साल असोज १४ गतेदेखि यसले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र का रूपमा कार्य गरेको र २०८० साल माघ २७ गतेदेखि हालसम्म पशु सेवा कार्यालय, मकवानपुर नामले सेवा दिइरहेको छ। कार्यक्रममा कार्यालयका अधिकारी तथा सरोकारवालाको सहभागिता थियो।

पालिका प्रेस
थप जानकारी