आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुर जिल्लामा सञ्चालनमा रहेको सिविन बालहेल्पलाइनमा ३ सय ६५ बालबालिकासम्बन्धि उजुरी दर्ता भएका छन् । बालहेल्पलाइनमार्फत् १ सय ७८ बालक र १ सय ८७ बालिकाका विभिन्न समस्या र हिंसाका घटना उजागर भएका हुन् । सबभन्दा बढी २ सय २१ उजुरी हेटौंडा उपमहानगरपालिका अन्तर्गत् दर्ता भएका छन् ।
तीमध्ये बालविवाहका १६ घटना छन् (१३ बालिका, ३ बालक), जसमा १२ बालविवाह रोक्न सफल भएको जनाइएको छ । हराएका ४ बालबालिकाको प्रहरी सहयोगमा पुनःपारिवारिक मिलन गराइएको छ । अलपत्र फेला परेका २२ बालबालिका, शारीरिक दण्डको शिकार बनेका १० जना, शिक्षा सहयोग पाएका ७८ जना, बालश्रममा परेको ५७ जना, मानसिक परामर्श लिएका ९ जना र जबर्जस्ती करणी तथा यौन दुव्र्यवहारका २ बालिकाको उजुरी पनि दर्ता भएको छ । बालश्रमबाट उद्धार गरिएका ५७ जना बालक र बालिकामध्ये ४८ जनालाई श्रम कार्यालयमार्फत् कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनामा संलग्न पक्षसँग ४ लाख ४२ हजार रुपियाँ जरिवाना र ५ लाख १६ हजार ८ सय ७५ रुपियाँ क्षतिपूर्ति संकलन गरिएको छ ।
मनहरी गाउँपालिकामा ८९ उजुरी दर्ता भएका छन् । तीमध्ये १६ वटा बालविवाहका घटनामा ९ रोक्न सफल भएको हो । शैक्षिक सहयोगमा ५२ बालबालिका, बालश्रममा परेका ५ जना र परामर्श सेवा लिने २ जनाको विवरण छ । बकैया गाउँपालिकामा १३ उजुरी दर्ता भए, जसमा ५ बालविवाह, ६ अलपत्र बालबालिका र १ बालश्रमका घटना छन् । कैलाश, राक्सिराङ, भीमफेदी, मकवानपुरगढी र बागमती गाउँपालिकामा पनि बालविवाह, बालश्रम र यौनदुव्र्यवहारका घटना देखिएका छन् ।
सिविन नेपाल मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीका अनुसार प्रेमसम्बन्धका नाममा थुप्रै बालिका बलात्कारको शिकार भएका छन् । ‘१८ वर्ष नपुगेकी बालिका र वयस्क पुरुषबीच सम्बन्धमा जब उजुरी पर्छ, तब पुरुषलाई मात्र दोषीठहर गरिन्छ,’ ज्ञवालीले बताए । उनले बालकहरु पनि यौनदुव्र्यवहारमा पर्नसक्ने उल्लेख गर्दै कानुनले लिङ्गका आधारमा विभेद गर्न नहुनेमा जोड दिएका छन् । ‘महिलाद्वारा बालकलाई फकाएर सम्बन्ध बनाएको घटनामा पनि कानुनी संरक्षण हुनु आवश्यक छ,’ ज्ञवालीले भने । बालबालिकाबीच सामाजिकसञ्जालमार्फत् सम्बन्ध बढ्दै जाँदा ११ वर्षकै उमेरमा प्रेम र बालविवाहसम्मको अवस्था आउने गरेको पनि उनले बताए ।
सिविन नेपालका प्रवन्धक माधब लोहनीका अनुसार ‘बाल यौनदुव्र्यवहारका घटना सबभन्दा बढी बागमती गाउँपालिकामा दर्ता भएका छन् । तर, सबै घटना रिपोर्ट हुँदैनन्,’ लोहनी भन्छन्–कानुनी प्रक्रिया लामो भएकाले धेरै पीडित बीचैमा हराउँछन् ।’ सीमावर्ती क्षेत्रहरुमा बालबालिका बेचबिखन, ठगी र सामाजिकसञ्जालको प्रयोगमार्फत् हुने शोषण बढ्दो रहेको उनले बताए । यौनदुव्र्यवहारका पीडितहरुले उजुरी गर्न झमेला भएको कारण आवाज उठाउन नसक्ने अवस्था छ ।
उक्त तथ्यांकले देखाउँछ कि मकवानपुरमात्र होइन, अन्य क्षेत्रबाट पनि बालबालिकाका गम्भीर उजुरी उजागर भइरहेका छन् । सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग, सीमावर्ती क्षेत्रको जोखिम र कानुनी प्रक्रियाको जटिलता प्रमुख चुनौतीका रुपमा देखिएका छन् । सरकारले सामाजिक सञ्जाल दर्ता गरेरमात्र सञ्चालन गर्नुपर्ने नियम ल्याए पनि कार्यान्वयन नहुँदा बालबालिकामाथिको आपराधिक गतिविधि कमी आउन सकेको छैन ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्