बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरूसँग जोड्न ‘रूपचन्द्र विष्ट थाहा मार्ग’ निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउका छन् । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासँग सिमाना जोडिएका अन्य तीन पालिका समेटेर रूपचन्द्र विष्ट थाहा मार्ग निर्माण हुने उल्लेख गरे ।

थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए । रुट निर्धारण गरी रूपचन्द्र विष्ट थाहा मार्ग नामकरणसहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाइ छ । उक्त कार्य थाहा नगरपालिका तथा सम्बन्धित तीनवटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरूको पूर्ण सहमति लिएर मार्ग निर्माण प्रक्रिया अघि बढाउने उनले बताए ।

‘प्रदेश सरकारको पहलमा थाहा नगरपालिकालाई कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकासँग जोड्ने गरी ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्नेछौँ,’ उनले भने, ‘विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर मार्ग निर्माणको काम अघि बढाउँछौँ।’

थाहा नगरपालिका ऐतिहासिक र विचारशील व्यक्तित्व रूपचन्द विष्टसँग गहिरो रूपमा जोडिएको उनले बताए। रूपचन्द्र विष्टले समानता, समान अवसर र प्रजातन्त्रमा गहिरो विश्वास राख्ने गरेको मुख्यमन्त्री बानियाँको भनाइ थियो। रूपचन्द विष्टको दर्शन आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले विष्टको विचारजस्तै गाउँमुखी, जनमुखी, सेवामुखी, न्यायमुखी, र विकासमुखी अभियानअन्तर्गत सरकारले विकास र सेवाका योजना सफलतापूर्वक कार्यान्वयन गर्दै जाने दाबी गरे।

कार्यक्रमका विशेष अतिथी समेत रहेका मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् नेपाल सरकार सत्ता पक्षका मुख्य सचेतक महेश कुमार बर्तौलाले प्रस्तावित रुपचन्द्र विष्ट मार्गले थाहा नगरको भविष्य उज्वल बन्ने बताएका छन् । सांसद बर्तौलाले राजमार्ग र यातायात अवागमनका कारण सुनसान बन्दै गएको थाहा नगरपालिकालाई लक्षित गरि रुपचन्द्र मार्ग प्रस्ताव गरेको बताए । बर्तौलाले महेन्द्र राजमार्गको मनहरी खण्डबाट राक्सिराङ, कैलाश हुँदै थाहा नगरपालिकाबाट काठमाडौं जोडिने गरि रुपचन्द्र विष्ट मार्गलाई साझा कार्यक्रमको रुपमा अघि बढाउन सके थाहामा पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताए ।

बर्तौलाले पश्चिम नेपालबाट काठमाडौं जोडिने सबैभन्दा छोटो मार्ग हुने हुँदा थाहा नगरमा व्यापारिक चहलपहल हुने र थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टप्रति सम्मान समेत हुने बताए । “यो मार्ग निर्माणका लागि करिव ४ सय करोड लागत लाग्छ, तर चारवटै स्थानीय तहहरुले सकारात्मक सहजीकरण गरिदिए मार्ग निर्माणमा कुनै समस्या हुने छैन ।“ बर्तौलाले भने, “अहिले देशका जेलहरुमा कैलाश र राक्सिराङका सयौं युवाहरु गाँजाका कारण थुनिएका छन् । यो सडक ती युवाहरुका लागि बैकल्पिक कामको विषय पनि बन्नेछ ।“

चालु आर्थिक वर्षका लागि संघीय सरकारले प्रस्तावित रुदाने मार्गका लागि ३ करोड रुपियाँ बिनियोजन समेत गरिसकेको छ । हाल सो मार्गका लागि डीपीआरको काम भइरहेको छ । समय मै डीपीआर सम्पन्न हुन सके यसै वर्ष थप ६–७ करोडको काम सो मार्गमा गर्न सकिने सांसद बर्तौलाले जानकारी दिए । प्रस्तावित मार्ग थानकोट – चित्लाङ–पालुङ–शिखरकोट दोबाटो–भुङदल–बाहुनगाउँ–दम्की–डाँडाबास–गोगने–पकने–ठुलीबेसी–फाँट कुञ्ज–काप्सेरी–अल्छे–सुखु भन्ज्याङ हुँदै निर्माण हुनेछ ।

पालिका प्रेस
थप जानकारी