मकवानपुरको थाहा नगरपालिकालाई ८ भाद्रमा ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको छ । थाहा नगरपालिकाले नेपालमै पहिलो पटक २०७६ सालमा संस्थागत सुत्केरी अभियान शुरु गरेको थियो । वि.सं. २०७६ साल साउन १७ गते थाहाको ६ नम्बर वडालाई नेपालमै पहिलो पटक संस्थागत सुत्केरी वडा घोषणा गरी अभियानलाई पालिकाले तिब्रता दिएको हो । सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको र मातृ तथा नवजात शिशु मृत्युदर शून्य रहेकाले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको हो।

थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३५६ जना सुत्केरी भएका थिए । ८ भाद्रमा एक औपचारिक कार्यक्रमबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरेका हुन् । उनले थाहालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्दै जिल्लामा मात्र नभई थाहाले बागमती प्रदेशमै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए ।

‘सिमित स्रोत र साधनकाबिच एउटा पालिका भएर पनि थाहाले प्रदेशमै स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेलेको छ। थाहालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्न पाउँदा म गौरवान्वित भएको छु,’ उनले भने, ‘म आफ्नो कार्यकालमा मकवानपुरको उत्तरी क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्छु।’

मुख्यमन्त्री बानियाँले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गर्न मुख्य भूमिका खेलेको भन्दै सबै स्वास्थ्य स्वयंसेविकाहरुको प्रशंसा गरे । उनले राज्यले दिएको सिमित सुविधाका वावजुद घाम पानी नभनी निश्वार्थ सेवा गरेको भन्दै स्वास्थ्य स्वयंसेविकाहरुले राज्यबाट पाउँदै आएको सेवा सुविधामा प्रदेश सरकारले थप बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा मकवानपुर–२ का प्रतिनीधि सभा सांसद तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्य क्षेत्रमा गरे  को कामको प्रशंसा गरे । उनले स्वास्थ्यका साथै आफ्नो निर्वाचन क्षेत्रका विविध विकास निर्माणमा सघाउने चर्चा गरे । यस्तै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशको स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर स्थापना गर्नुको साथै हवाई उद्धारसमेत गरिरहेकोले थाहाले सुरु गरेको ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणालाई टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा १२ वटा वडामा विभाजित थाहा नगरपालिकाले थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बताए । थाहा नगरपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्रसहित १२ वटा स्वास्थ्य संस्थाहरु छन् ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमका अतिथी तथा सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले स्वागत गरेका थिए । सो अवसरमा मकवानपुर क्षेत्र नं. २ (क) की सांसद कुमारी मोक्तान, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक कृष्ण बहादुर मिजार, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक डाक्टर नरेन्द्र कुमार झा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, थाहानगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु, स्थानीय संघसंस्थाका प्रतिनीधिहरु, जनप्रतिनीधि, कर्मचारीहरुलगायतकाको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी