मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० बेतिनीमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन गरिएको छ । २० साउनमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले एक समारोहबीच उद्घाटन गरेका हुन् । अध्यक्ष मुक्तानले स्वास्थ्य र सरसफाईको क्षेत्रमा गाउँपालिकाले साझेदारी संस्थासँगको सहकार्यमा काम गर्दै आएको र आगामी दिनमा पनि सहकार्य रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा १२ भन्दा बढी संस्थासँग साझेदारी कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको अध्यक्ष मुक्तानले बताए । आमनागरिकलाई स्वास्थ्य बाट बञ्चित नहोस् भन्ने हेतुले सेवाप्रदान गर्दै आएको क्लिनिकले आगामी दिनमा पनि थप सुविधाका साथ सेवाप्रदान गर्ने विश्वास लिएको उनले बताए । घरमै डेलीभरीको अन्त्यका लागि १० नम्बर वडा र ६ नम्बर वडामा प्रसुती सेवा चालु आवमा सञ्चालनमा ल्याउने तयारी गाउँपालिकाको रहेको उनले बताए ।

स्वास्थ्य क्षेत्र सेवामा सक्रिय रहेको प्रेम सेवा समाजले सञ्चालनमा ल्याएको स्वास्थ्य क्लिनिक १९ लाख ९७ हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको समाजका अध्यक्ष मीरा स्याङ्तानले बताइन् । भवन निर्माणका लागि कैलाश गाउँपालिकाले १० लाख, बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ५ लाख, प्रेम सेवा समाजको ४ लाख ९६ हजार ९२४ रुपैयाँ लागतमा तीन कोठे भवन निर्माण भएको उनले बताइन । समाजका अध्यक्ष स्याङ्तानको अध्यक्षतामा कार्यक्रम भएको हो ।

पालिका प्रेस
थप जानकारी