मकवानपुर थाहा नगरपालिका वडा नम्बर १, को झम्केश्वरी माध्यमिक विद्यालयको ६ कोठे छात्राबास भवनको शिलान्यास भएको छ । २४ चेतमा संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले भवनको शिलान्यास गरेका हुन् । ‘एक पालिका, एक छात्रावास’ अभियानअन्तर्गत झम्केश्वरीमा छात्रावास निर्माणको कार्य हुन लागेको सांसद बर्तौलाको भनाइ छ ।

संघीय सरकारको १ करोड रुपैयाँ लागतमा भवन निर्माण हुने झम्केश्वरी माध्यमिक विद्यालयका लेखापाल जर्म श्रेष्ठले जानकारी दिए । भवन निर्माणको ठेक्का एलन निर्माण सेवाले पाएको छ । आउँदो असार मसान्तसम्ममा भवन निर्माण गरी सक्ने उनले बताए । ५१ जना विद्यार्थीका लागि छात्रावास निर्माण हुन लगिएको हो ।

झम्केश्वरी माध्यमिक विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा–१० सम्म पढाई हुन्छ । २ देखि साढे २ घण्टाको पैदल यात्रा गरी कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिकाको ४ र ५ नम्बर वडाबाट समेत पढ्नका लागि विद्यार्थी आउने गरेका छन् । विद्यालय तहको शिक्षा लिनकै लागि विद्यार्थी कोठा भाडामा लिएर बस्न बाध्य छन् । जसमा ४० जना विद्यार्थी कोठा भाडामा बस्दै आएको लेखापाल श्रेष्ठले जानकारी दिए । छात्रावास निर्माण पश्चात् घण्टौं पैदल यात्रा गरेर आउने विद्यार्थी र कोठा भाडामा बस्न बाध्य विद्यार्थीलाई राहत हुने उनले बताए ।

छात्रावासमा बस्ने विद्यार्थीले खानाको व्यवस्था आफैंले गर्नुपर्ने छ । सकेसम्म खानाको व्यवस्था सरकारलाई नै गरिदिन विद्यालयले पहल गर्ने श्रेष्ठले बताए । हाल विद्यालयमा १८ शिक्षक छन् भने २ सय ९५ जना विद्यार्थी अध्ययनरत छन् । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २६ जना विद्यार्थी सहभागी भएका थिए ।

पालिका प्रेस
थप जानकारी