मकवानपुरको कैलाश गाउँपालिका ६ मा लागुऔषध कारोबारीले लुटेर लगेको प्रहरीको पेस्तोल फेला परेको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जंगलबाट १८ चैत्रमा लुटिएको पेस्तोल त्यहाँ पुगेको प्रहरी टोलीले खोजीको क्रममा वडा नंम्बर १ को बोल्ने लेकमा १९ चैत्रमा फेला पारेको हो ।

लुटिएको पेस्तोल र लुटपाटमा संलग्नको खोजीका लागि घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लुटेर लगेको पेस्तोल खोजीको क्रममा कैलाश गाउँपालिका १ को बोल्ने लेकमा फेला परेको जानकारी दिए ।

लागुऔषध कारोबारी रहेको सूचना पाएर १८ चैत्रमा इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित गएको प्रहरी टोलीको साथा रहेको पेस्तोल लागुऔषध कारोबारीले लुटेर भागेका थिए । गोली लोड भएको अवस्थाको पेस्तोल लुट्ने र प्रहरीमाथि कुटपिटको घटना भएपछि १८ चैत्रबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । ‘लागुऔषध कारोबारीले लुटेर भागेको टाइप ९५४ को पेस्तोल फेला परेको छ’–प्रहरी नायव उपरीक्षक अर्यालले भने–‘लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।’

लागुऔषध कारोबारीसहितका १०/१५ जनाको समुहले प्रहरीमाथि कुटपिट र हुलहुज्जत समेत गरी पेस्तोल लुटेर लगेको थिए । हवल्दार तामाङ र सहायक हवलदार मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए । अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए ।

पालिका प्रेस
थप जानकारी