मकवानपुरको कैलाश गाउँपालिकाले वडावडामा न्यायिक समिति कार्यक्रम गर्नुकासाथै वडा तहमै कानूनी साक्षरता प्रदान गरेको छ । वार्षिक कार्यक्रमअन्तरगत गाउँपालिकाको कानून शाखाले पालिकाका सबै वडामा कानूनी साक्षरता सञ्चालन गरिएको न्यायिक सहजकर्ता अस्मिता थापाले बताइन् । न्यायिक समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यतामा वडावडामा कार्यक्रम सञ्चालन गरिएको थापाले बताइन् ।

कार्यक्रममा उपाध्यक्ष मल्लले न्यायिक समितिको क्षेत्राधिकार भित्र रहेर कार्य गर्दै आइरहेको बताए । न्यायको सिद्दान्तलाई प्रयोग गर्दै आफ्नो अधिकार प्रयोग गरिएको उनले बताए । ‘सबैले कानूनको पालना गर्नुपर्छ । टोल समाजमा हुने महिला तथा बालबालिकामाथिका घटना, गाली बेइज्जती, घरेलुहिंसा, कुटपिट जस्ता विषयको कानूनी प्रावधानबारे जानकारी दिने उद्देश्यले वडातहमै कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेका हौं’ उपाध्यक्ष मल्लले भने । कार्यक्रमलाई अधिवक्ता जगन्नाथ सुवेदीले सहजीकरण गरेका थिए । अधिवक्ता सुबेदीले बालविवाह, बहुविवाह, लागुऔषध, जवरजस्ती करणीका कानूनका दण्ड सजाय, बालबालिकासम्बन्धी ऐन, कुटपिट तथा अड्डभड्डसम्बन्धी कसुरबारे जानकारी दिएका थिए ।

वडाका जनप्रतिनिधि, न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता, विद्यालयका प्रअ, स्वास्थ्य स्वयम्सेविका, स्थानीय समाजसेवीको सहभागिता रहेको कार्यक्रममा फौजदारी न्यायका सिद्दान्त, गर्भसंरक्षण विरुद्धका कसुरबारे, बोक्सी आरोप, घरेलुहिंसा, गाली बेइज्जती सम्बन्धी कसुरलगायत विषयमा सहजीकरण गरिएको थियो । साक्षरता कार्यक्रममा करिब तीन सय भन्दा बढीको सहभागिता रहेको सहजकर्ता थापाले बताइन् । कार्यक्रममा न्यायिक समितिका सदस्य एवम् वडा ९ का वडाध्यक्ष भूवनसिं घलान, वडा ३ का कार्यबाहक अध्यक्ष एवम् समितिका सदस्य राममाया प्रजा, वडा ६ का वडाध्यक्ष रामबहादुर गोङ्वालगायतको सहभागिता थियो ।

गाउँपालिकामा हालसम्म अघिल्लो आर्थिक वर्षबाट सरिआएको दुईवटा मुद्दा मिलापत्र भइसकेको थापाले बताइन् । कानून शाखा अर्थात न्यायिक समितिमा ज्याला मजदुरीको एक मुद्दा छलफलको क्रममा रहेको छ भने घरभाडाको र गाली बेइज्जतीको मुद्दा एकएक वटा छलफलको क्रममा रहेको उनले बताइन् । ‘श्रीमान् श्रीमतीको २ वटा झगडाको हामीले मिलापत्र गरेका छौं, जग्गा मिचेको विवाद भने समितिमा नमिलेपछि जिल्ला अदालत पठाएका छौं,’ थापाले भनिन् । एकवटा बैनापट्टा विवाद म्याद तामेलीमा रहेको छ ।

पालिका प्रेस
थप जानकारी