मकवानपुर थाहा नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालालाई शहरी स्वास्थ्य कार्यक्रम अन्तर्गत एक दिने नसर्ने रोग सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रमका सहभागीहरुलाई जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले सहजीकरण गरेका थिए । सो क्रममा प्रमुख मिजारले व्यक्ति हुँदै परिवार र समाजमै नसर्ने रोग बारे जनचेतना जगाउन आवश्यक रहेको औल्याए । यसका लागि स्थानीय सरकारको भूमिका अतुलनीय हुने उनकने भनाइ छ । बागमती प्रदेशले सञ्चालन गरेको मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम मार्फत नागरिकलाई स्वास्थ्य क्षेत्रमा लाभ मिलेको मिजारको भनाइ थियो ।
कार्यक्रममा थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले पहिले सर्ने रोगहरुलाई मात्र प्राथमिकतामा राखी अभिलेख राख्दै आएको भएपनि अहिले सरकारले नसर्ने रोगको बारेमा जनचेतना दिइरहेको जानकारी दिए । नसर्ने रोग अन्तर्गत मुटु, रोग, मधुमेह, क्यान्सर तथा श्वासप्रश्वास रोगहरु पर्ने स्वास्थ शाखा प्रमुख बलामीले जानकारी दिए । स्वास्थकर्मी तथा सरोकारवालाहरुलाई व्यवहारिक ज्ञान दिनको लागि आयोजना गरिएको कार्यक्रममा विश्वभरमा ८०% मानिसहरुको मृत्यु नसर्ने रोगबाट हुने गरेको तथ्यांक रहेको रहेको जनस्वास्थ्य प्रमुख मिजारले बताए ।

संघीय सरकारले शहरी स्वास्थ्य कार्यक्रम शुरुवात गरेको तीन वर्ष भएको र यो अन्तिम वर्ष भएकोले अब स्थानीय तह र स्वास्थ्य संस्थाहारुलाई कार्यक्रम हस्तान्तरण सहित शहरी स्वास्थ्य कार्यक्रमलाई स्थानीय स्वास्थ्य प्रणालीमा समाहित हुने मिजारले उल्लेख गरे ।
अभिमुखिकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत दिलेन्द्र बुढा मगर, लक्ष्मण घिमिरे, खोप तथा बालस्वास्थ्य फोकल पर्सन बासुदेव रिमाल थाहा नगरपालिका भित्र रहेका ७ वटा शहरी स्वास्थ्य संस्थाका प्रमुखहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, जनप्रतिनिधि, स्थानीय युवा क्लवका प्रतिनिधि, संचारकर्मी, स्वास्थ्यकर्मीलगायतका सहभागी रहेको थियो।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्