म्याग्दीको धवलागिरि गाउँपालिकामा थप र चार करोड २१ लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाको २३औँ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन बाँकी रहेको मौज्दात रकमलाई विभिन्न योजनामा विनियोजन गरेको हो ।
गाउँसभाले निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाको प्रशासकीय भवन र गुर्जा जोड्ने मोटरबाटोलाई प्राथमिकता दिएर ६०/६० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले जानकारी दिए ।
सभामा उपाध्यक्ष रेशम पुनले प्रस्तुत गरेको संसोधित बजेटलाई पारित गरिएको छ । गत असारमा सम्पन्न २२औँ गाउँसभामा ४३ करोड ४३ लाख ४८ हजार बजेट पारित गरिएकोमा बुधबारको गाउँसभाले थप बजेट विनियोजन गरेर गाउँपालिकाको कुल बजेट ४७ करोड ६४ लाख ५८ हजारको संशोधित बजेट स्वीकृत गरिएको गाउँपालिकाले जनाएको छ ।
सभाले विनियोजन ऐन २०८१ लाई संशोधन गर्नुका साथै विभिन्न योजनामा रकम थपका साथै रकमान्तर गर्ने निर्णयसमेत गरेको छ । गाउँसभाको अवसरमा पालिकाभित्रका सामुदायिक विद्यालयमा ३० वर्षभन्दा बढी समय शिक्षण सेवा गरेका आठजना शिक्षकलाई नगदसहित सम्मानसमेत गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख खेमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार, हेम माविका शिक्षकद्वय ठाकुर पौडेल, कर्ननाथ सुवेदी, धनजनता मावि फलियागाउँका प्रअ पूर्णबहादुर भण्डारी, धौलागिरि मावि मुनाका शिक्षक मनबहादुर पुन, कोट आधारभूत विद्यालय काफलडाँडाका प्रअ हेमनाथ उपाध्याय, जगन्नाथ आधारभूत विद्यालय हिलापोखरीका प्रअ सुकदेव पौडेल, जनविकास मावि मराङका शिक्षक खडानन्द शर्मा र कल्लेनी आधारभूत विद्यालय कल्लेनका प्रअ भेषनाथ गौतमलाई जनही नगद ६ हजार सात सयको साथमा दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।
सभामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमलाई प्रभाबकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता जुट्नुपर्ने बताए । भौगोलिक रूपमा विकटता र दुर्गमता रहेको पालिकाभित्रका बस्तीस्तरमा सञ्चालन हुने पूर्वाधार योजनालाई गुणस्तरीय, टिकाउ र निर्धारित समयमै निर्माण सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्