संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकामा रहेको १५ शय्यायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति खुसी व्यक्त गरेका छन्।

मन्त्री गुप्ताले मन्त्रिपरिषद् बैठक चलिरहेकै बेला आफ्नो सामाजिक सञ्जालमा यो निर्णयलाई ऐतिहासिक उपलब्धि भन्दै, जनताको लामो समयदेखिको मागलाई पूरा गर्न सफल भएको बताएका छन्। उनले भनेका छन्, “वर्षौँदेखिको प्रयास र जनताको चाहनालाई सार्थकता दिन पाउँदा म अत्यन्तै खुसी छु। पोखरिया अस्पतालको स्तरोन्नतिले पोखरियाका मात्र नभई सम्पूर्ण मधेस प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्नेछ।”

उनले यो निर्णयमा महत्त्वपूर्ण भूमिका खेलेका पोखरियाका नगरवासी, स्थानीय अगुवा, सामाजिक अभियन्ता तथा राजनीतिक दलहरूलाई आभार व्यक्त गर्दै सामूहिक प्रयासको नतिजाका रूपमा निर्णय कार्यान्वयन भएको बताएका छन्।

साथै, मन्त्री गुप्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई धन्यवाद दिँदै, निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेकोसमेत जनाएका छन् ।

पालिका प्रेस
थप जानकारी