स्थानीय तहको आसन्न उपनिर्वाचनमा कागजकै मतपत्र प्रयोग हुने भएको छ । विगतका कतिपय उपनिर्वाचनमा विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गरिए पनि राजनीतिक दलको असहमति र निर्वाचन आयोगको अनिच्छाका कारण यसपटक पुरानै विधिबाट मतदान गराइने भएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचनमा ईभीएमको प्रयोग सम्भव नभएको बताए । ‘यो उपनिर्वाचन पुरानै विधिबाट हुनेछ,’ उनले भने, ‘ईभीएम प्रयोग गर्न कम्तीमा एक वर्षको तयारी चाहिन्छ । मतदातालाई मतदानको अभ्यास गराउनुपर्छ, मेसिन पनि भरपर्दो चाहिन्छ,’ उनले भने, ‘त्यसैले यो उपनिर्वाचन पुरानै विधिबाट मतदान हुनेछ ।’ राजनीतिक दलहरु सहमत भए आगामी निर्वाचनमा ईभीएम प्रयोग गर्न सकिने थपलियाको भनाइ छ । ‘ईभीएममा विश्वास भयो भने आगामी आमनिर्वाचनमा सम्भव हुन सक्छ,’ उनले भने, ‘मुख्य कुरा इच्छाशक्ति हुनुपर्यो ।’
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भने विगतमा उपनिर्वाचनमा ईभीएमको सफल प्रयोग भइसकेकाले द्विविधा मान्नुपर्ने कारण नभएको बताउँछन् । ‘विगतका केही निर्वाचन क्षेत्रमा ईभीएमको सफल प्रयोग भइसकेकाले अभ्यास गर्दै जानुपर्छ,’ उनले भने, ‘उपनिर्वाचनमा विद्युतीय मतदान सिक्ने मौका हुन्थ्यो, त्यसले आगामी आमनिर्वाचनमा ईभीएम प्रयोगको थप बाटो खोल्न सक्थ्यो ।’ उनले विद्युतीय मतदानका लागि मेसिन विश्वसनीय भने हुनुपर्ने बताए ।
निर्वाचन आयोगले गत स्थानीय, प्रदेश र संघको निर्वाचनमा केही स्थानमा ईभीएम प्रयोग गर्ने प्रस्ताव गरेको थियो तर राजनीतिक दलहरुले अस्वीकार गरेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १ मा ईभीएम प्रयोग गरिएको थियो । २०६५ मा भएको उपनिर्वाचनमा कास्की–१, रोल्पा–२, मोरङ–५ र ७, कञ्चनपुर–४ र धनुषा–५ मा ईभीएम प्रयोग गरिएको थियो । २०७१ को संविधानसभाको उपनिर्वाचनमा पनि काठमाडौं–२, चितवन–४, बर्दिया–१, कैलाली–६ र बागलुङ–१ मा ईभीएममा मतदान गराइएको थियो । त्यति बेला ईभीएम प्रयोगका कारण मत परिणाम छिटो सार्वजनिक भएको थियो । नेपालकै केही कम्पनीले निर्माण गरेका ईभीएम विभिन्न दल र संगठनका चुनावमा प्रयोग भइसकेका छन् ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्