चिकित्सा शिक्षा अध्ययनका लागि फारम भर्नुअघि मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिका-२५ का इन्जमामुल हक जिल्ला प्रशासन कार्यालय, धनुषा पुगे। हकले मधेशी मुस्लिम भएको प्रमाणपत्रका लागि निवेदन दिए।
तर, जिल्ला प्रशासन कार्यालयले प्रमाणपत्र दिन अस्वीकार गर्यो। प्रशासनका कर्मचारीले ‘मधेशी होइनौं, मुस्लिम हौं’ भन्दै फिर्ता पठाइदिए। प्रमाणपत्र नपाएपछि उनले मधेशी क्लस्टरबाट चिकित्सा शिक्षाका लागि फारम भर्न पाएनन्।
मधेशकै राजधानीका बासिन्दा वाजिद रब्बानीको पनि उस्तै पीडा छ। वषौंदेखि रब्बानीको परिवार जनकपुरधाम-२३ मा बस्दै आएको छ। उनी पनि ‘मधेशी मुस्लिम’ भएको प्रमाणपत्रका लागि प्रशासन कार्यालय पुगेका थिए। तर, सरकारी कर्मचारीले ‘मधेशी’ होइन भनेर ‘मुस्लिम’को प्रमाणपत्र दिएर फिर्ता पठाए।
मधेशका मात्रै होइन, लुम्बिनी प्रदेशका मुस्लिम समुदायका युवा तथा विद्यार्थीलाई पनि त्यस्तै झमेला आइलाग्यो। रुपन्देहीका फिर्दोस खान र नूर आयशा खातूनले ‘मधेशी मुस्लिम’को प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए। तर, प्रशासनले मधेशी होइन भन्दै मुस्लिमको प्रमाणपत्र बनाइदिएको दुवै दिदीबहिनी गुनासो गर्छन्।
उनीहरू लोक सेवा आयोगको विज्ञापनमा मधेशी क्लस्टरबाट आवेदन गर्न प्रमाणपत्र बनाउन गएका थिए। मुस्लिम समुदायले मधेशी कोटाबाटै प्रतिस्पर्धा गर्दै आएका थिए।
“मुस्लिम भएको प्रमाणपत्र लिएर कुन विज्ञापनमा निवेदन दिन मिल्छ? मुस्लिमका लागि छुट्याएर त विज्ञापन नै हुँदैन, मधेशीमै राखिँदै आएको छ,” बुवा अब्दुर रहमान खान गुनासो गर्छन्, “मधेशी कोटा भनेर हुँदै आएको विज्ञापनमा हाम्रो अधिकार हुँदाहुँदै अहिले बञ्चित गरिएको छ।”
कपिलवस्तुको यशोधरा गाउँपालिका-७ सोमडीह इटवाकी सबिना खातुन पनि जिल्ला प्रशासन कार्यालयले प्रमाणपत्र नदिएपछि रित्तो हात फर्किन्। प्रशासन कार्यालय, कपिलवस्तुले मधेशी नभएर मुस्लिम मात्र रहेको प्रमाणपत्र बनाइदिने भनेपछि खातुन फर्किएको बताउँछिन्।
यशोधरा-७ का वडाध्यक्ष चन्द्रप्रकाश दुबेले मधेशी प्रमाणपत्रका लागि सिफारिश गरेका थिए। त्यही सिफारिश लिएर पुगेकी उनलाई सरकारी कर्मचारीले ‘मधेशी होइनौं’ भनेर फर्काए। सहायक प्रमुख जिल्ला अधिकारीले ‘तपाई मधेशी हुनुहुन्न, मुस्लिम मात्र हुनुहुन्छ, मधेशी आयोगबाट रोकिएको छ’ भनेर फर्काएको बताउँदै उनी भन्छिन्, “मधेशी प्रमाणपत्र नपाएमा मुस्लिम प्रमाणपत्र पनि लिन्न। मुस्लिम भएको प्रमाणपत्रले कतै आवेदन दिन मिल्दैन।”

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्