हामी इन्टरनेटको अभावमा एक छिन पनि बस्न सक्दैनौ । बिजुली बत्ती भएन भने त झन बैकल्पिक उपाय खोजिहाल्छौं । थोरै दुरी हिँड्न परे सवारी साधन खोज्छौं । यि सबै सेवा लिँदा पैसा तिर्नुपर्छ । तर, हाम्रो स्वास्थ्यसंग प्रत्येक्ष सम्बन्ध राख्ने खानेपानी शुद्धिकरण गर्नका लागि वर्षभरीमा कति खर्च गरेऔं होला सोच्नूस त ? पक्कै ज्यादै कम खर्च अर्थात धेरैजसोले त खर्च गर्दै गरेका छैनौं । विहान उठ्ने वित्तिकैदेखि बेलुकी सुत्ने बेलासम्म धेरै पटक पानी खान्छौं । त्यो पानी शुद्ध छ होला त ? यि पानीको गुणस्तर परीक्षणको त कुरै छोडौं, धारामा पानी आउन्जेलसम्म मुहान कस्तो छ भनेर हेर्नसम्म पनि जाँदै जाँदैनौं ।
अब कुरा गरौं, मकवानपुर थाहा नगरपालिकाको । थाहा नगरपालिकामा गएका दुई आर्थिक वर्षदेखि हालसम्म ५ हजार ४ सय १५ जना पानीजन्य रोगबाट संक्रमित भएका छन्, अर्थात बिरामी परेका छन् । पालिका अन्तर्गतको ११ वटा वडाका १२ स्वास्थ्य संस्थाको बिरामी जाँच प्रतिवेदन अनुसार यति धेरै मानिसहरु पानीबाट सर्ने रोगका कारण बिरामी भएको पाइएको हो । खानेपानी शुद्ध नहुँदा उनीहरुमा विभिन्न रोग लागेको स्वास्थ्य संस्था प्रमुखहरुको प्रतिक्रिया रहेको छ ।

चालु आर्थिक वर्षको २ महिना साउन र भाद्रमा मात्र पनि ४ सय ३८ जना पानीजन्य रोगका कारण बिरामी परिसकेको छन् । थाहा नगरपालिकाको अभिलेखमा रहेका पानीबाट लाग्ने विभिन्न ९ वटा रोगहरु मध्ये यो दुई महिनामा सबैभन्दा बढि झाडापखालाबाट १ सय ७८ जना विरामी भएका छन् । साउन र भाद्र महिनामा मात्र यति धेरै विरामी परेका हुन् । त्यसैगरी एक्युट ग्याष्ट्रो इन्टेरीटिसबाट १ सय ६३ जना विरामी भएका छन् । त्यसैगरी आउँमासीबाट २१, रगतमासीबाट १२, हेपाटाइटिस ए बाट १, जुकापर्नेबाट ३५, जण्डिसबाट २ र टाइफाइडबाट २६ बिरामी परेको थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी गत आर्थिक वर्ष २०८०/०८१ मा थाहा नगरपालिकामा २ हजार ४ सय ६३ जना पानीजन्य रोगबाट बिरामी परेका छन् । यस आर्थिक वर्षमा सबैभन्दा बढि एक्युट ग्याष्ट्रो इन्टेरीटिसबाट ८ सय ३७ जना बिरामी भएका छन् । स्वास्थ्य संस्थाहरुको अभिलेख अनुसार दोस्रोमा झाडापखला रहेको छ । यस रोगबाट ८ सय ३२ जना बिरामी परेका थिए । यस आर्थिक वर्षमा आउँमासीबाट १ सय ८७, रगतमासीबाट ६६, हेपाटाइटिस ए बाट ७ जना, जण्डिसबाट ६७ जना, टाइफाइडबाट १ सय ४२ जना, जलबियोजनका कारण २ जना बिरामी परेको थाहा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिए । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षको भन्दा केही कम भएपनि सकारात्मक सूचक भने नभएको प्रमुख बलामीको भनाइ छ । ‘पहिलेको तुलनामा प्राथमिक उपचार लगायतको ज्ञान भएर घरैमा उपचार गरेकाले बिरामी स्वास्थ्य संस्थासम्म नआइपुगेको हुन सक्छ’–उनले भने ।
त्यसोतः आर्थिक वर्ष २०७९/०८० मा पानीजन्य रोगको संक्रमणबाट आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ५१ जना बढि उपचारको लागि स्वास्थ्य संस्था पुगेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९/०८० मा २ हजार ५ सय १४ जना उपचारको लागि स्वास्थ्य संस्था पुगेका थिए । आर्थिक वर्ष २०७९/०८० मा भने सबैभन्दा बढि झाडापखलाका बिरामीहरु उपचारको लागि स्वास्थ्य संस्था पुगेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क छ । दोस्रोमा एक्युट ग्याष्ट्रो एन्टेरीटिसबाट ६ सय ८३ जना व्यक्ति उपचारको लागि स्वास्थ्य संस्था पुगेका छन् । तेस्रोमा भने ३ सय ७८ जना जुका पर्ने विरामी उपचारको लागि स्वास्थ्य संस्था पुगेको तथ्याङ्कले देखाएको छ । सो आर्थिक वर्षमा आउँमासीबाट २ सय २३ जना बिरामी भएकाछन् भने रगतमासीबाट ७८ जना, जण्डिसबाट ९३ जना, टाइफाइडबाट १ सय जना र जलबियोजनबाट ११ जना बिरामी भई उपचारका लागि स्वास्थ्य संस्थामा पुगेको अभिलेख छ ।

थाहा नगरपालिकाको तथ्याङ्क अनुसार एक्युट ग्याष्ट्रो एन्टेरीटिसबाट पीडित बिरामीहरुको संख्या वृद्धि हुँदै गएको देखिन्छ । यस रोगबाट आर्थिक वर्ष २०७९/०८० मा ६ सय ८३ जना बिरामी भएकोमा आर्थिक वर्ष २०८०/०८१ मा ८ सय ३७ जना बिरामी भएका छन् । चालु आर्थिक वर्षको दुई महिनामा पनि यस रोगबाट १ सय ६३ जना बिरामी भैसकेको छन् । हेपाटाइटिस ए बाट अघिल्लो आर्थिक वर्षमा शुन्य विरामी देखिएकोमा आर्थिक वर्ष २०८०/०८१ मा ७ जनामा देखिएको छ भने चालु आर्थिक वर्षमा १ जनामा देखिइसकेको छ । त्यसैगरी टाइफाइडका बिरामीहरुको संख्या पनि वृद्धि भएको छ । यस रोगबाट आर्थिक वर्ष २०७९/०८० मा १ सय जना बिरामी परेकोमा आर्थिक वर्ष २०८०/८१ मा १ सय ४२ जना बिरामी परेको थाहा नगरपालिकासंग तथ्याङ्क छ । टाइफाइडबाट चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा पनि २६ जना बिरामी परिसकेका छन् । अन्य रोगहरुबाट संक्रमित बिरामीहरुको संख्या भने झिनो मात्रामा कमी आएको छ ।
पानीजन्य रोगबाट कसरी बच्ने ?
बर्खाको बेला बाढी–पहिरो आउने गर्छ । जसले गर्दा हाम्रो घर वरपरका खानेपानीको मुहानहरूमा बाढी पस्छ । खानेपानीको मुहान दूषित हुन्छ । यसरी बाढी पसेको पानी पिउँदा हामीलाई झाडापखाला र आउँजस्ता पानीबाट सर्ने रोगको संक्रमण हुन्छ । त्यसैले पानीलाई उमालेर पिउने गर्नुपर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गर्न सकिन्छ । पानीलाई कम्तिमा पनि एक भुल्को उमालेर खाने गर्दा यस्ता रोगहरूबाट बच्न सकिने पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गगन कार्की बताउँछन् ।
सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान पु¥याउनुपर्छ । वर्षातको मौसममा अझ बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुँदा हामीले खाने पानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ । वर्षातमा दूषित पानीबाट लाग्ने रोगहरूबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दूषित पानीको सेवन नगर्नु र खानेकुरा खानुअघि हात धुनु नै हो । जथाभावी दिसापिसाब गर्नु हुँदैन । खानेकुरालाई राम्रोसँग पकाएर खानुपर्छ ।
यसका साथै साबुन–पानीले हात धुने गरे पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरिसकेपछि, खाना बनाउनु अघि, खाना बाँड्नुअघि र खाना खानुभन्दा पहिले पहिला साबुनपानीले हात धुनु आवश्यक हुन्छ । विशेषगरी बालबालिकालाई यस्ता रोगहरूले सताउने भएकाले आफैँले उनीहरूको सरसफाइ गरी दिनुपर्छ,–डाक्टर कार्कीले भने ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्