एलपी ग्यासबाट हुने आगलागीबाट बच्न स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाले नगरको ६ वटा मुख्य बजारहरुमा सचेतनामूलक प्रदर्शनी कार्यक्रम गर्ने भएको छ ।
थाहा नगरपालिकाको सहयोगमा नगरको ६ भेगका मुख्य बजारहरु डाँडाबास, शिखरकोट, ओखरबजार, बज्रवाराही, चित्लाङ र नौखण्डेमा एलपी ग्यासबाट हुने आगलागीबाट बच्ने उपायहरुबारे अभ्यासकार्यसहित सचेतना कार्यक्रमको आयोजना गर्न लागिएको स्थानीय स्काउट संयोजक गणेशमान श्रेष्ठले जानकारी दिए ।
१७ असोजमा स्काउट कार्यालयले कार्यक्रमको मिति, स्थान र समयको विवरण सार्वजनिक गरेको छ जस अन्तर्गत २० कात्तिकमा डाँडाबास(विहान ७.३०), शिखरकोट(मध्यान्ह १२ः००) र ओखरबजार(दिउँसो ४ः००) मा कार्यक्रम हुनेछ भने २१ कात्तिकमा चित्लाङ(विहान ७.३०), बज्रवाराही(मध्यान्ह १२ः००) र नौखण्डे (दिउँसो ४ः००) बजे कार्यक्रम गर्ने तालिका निर्माण गरिएको छ ।
यदि ग्यास पड्केर आगलागी भइहालेमा के गर्ने भन्ने सामान्य जानकारी पनि उपभोक्ताहरुमा नदेखिँदा समस्या जोखिम रहेको भन्दै स्थानीय स्काउट कार्यालयले यस्तो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा एलपी ग्यास किन्ने बेलामै ध्यान दिनुपर्ने कुराहरु, ग्यास जोड्दा ध्यान दिनुपर्ने कुराहरु, ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिने र ग्यासबाट आगलागी भइहालेमा के गर्ने भनेर प्रयोगात्मक अभ्यास गराउने कार्यक्रम रहेको स्काउट कार्यालयले जनाएको छ ।
२०७८ सालको जनगणना अनुसार थाहा नगरपालिकामा ३६.७ प्रतिशत परिवारले ग्यास चुल्होको प्रयोग गर्दछन् । नेपाल प्रहरीका अनुसार ग्यास सिलिन्डर लिक भएर भएका आगलागीबाट पछिल्लो तीन वर्षमा मात्रै काठमाडौं उपत्यकामा नौ जनाको ज्यान गएको छ भने मुलुकभर ४२ जना घाइते भएका छन् । नेपालमा ग्यास सिलिन्डर लिक भएर भएका आगलागीबाट गत वर्षमात्र एक जनाको ज्यान गएको थियो भने सांसद चन्द्र भण्डारीसहित १६ जना घाइते भएका थिए ।
नेपालमा ग्यास व्यवसायको झन्डै ६० वटा कम्पनीमार्फत एक करोड ५० लाखवटा सिलिन्डरहरू बजारमा पठाएको तथ्याङ्क छ । त्यसमध्ये एक करोड १६ लाख ८४ हजार आठ सय १० सिलिन्डरको तथ्यांक यकिन गरिएको छ । मूलतः प्रत्येक महिना मुलुकभर करिब ३२ लाख ४० हजार सिलिन्डर खपत हुन्छ ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्