थाहानगरको बज्रवाराही युवा क्लबले जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधि चुमेको छ । थाहानगरको चित्लाङस्थित माझगाउँमा २६ पुसदेखि जारी जिल्लास्तरीय भलिवल प्रतियोगिताको फाइनलमा तलेजु युवा क्लबलाई उपविजेतामा सीमित गर्दै बज्रवाराही युवा क्लब जिल्ला भलिवल च्याम्पियन हुन सफल भएको हो ।
१ माघमा भएको बज्रवाराही र तलेजुबीचको प्रतियोगिता निकै प्रतिष्पर्धात्मक र रोमाञ्चक भएको थियो । दुबै टिमले २÷२ सेट जितेपछि भएको अन्तिम पाँचौ सेटमा बज्रवाराहीले तलेजुलाई पराजित गरेको थियो । सेमीफाइनलमा विनयबावु स्मृति प्रतिष्ठानलाई पराजित गरेर बज्रवाराही युवा क्लब बज्रवाराही फाइनलमा पुगेको थियो भने ड्रिमर्स क्लब फुर्केलाई हराएर तलेजु युवा क्लब चित्लाङ फाइनलमा प्रवेश गरेको थियो ।
विजेता घोषणा भएसँगै बज्रवाराही युवा क्लबले रु. ५१,००० नगद पुरस्कार पाएको छ भने उपविजेता तलेजुले रु. २५,००० पाएको छ । प्रतियोगितामा तेस्रो विनयबाबु स्मृति प्रतिष्ठानले नगद रु. १५,००० पुरस्कार पाएको छ । विजेताहरुले शील्ड, मेडल र प्रमाणपत्र पाएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री विरोध खतिवडाले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा इन्टरनेशनल रेफ्री चन्द्रबन्दना राई तथा नेशनल रेफ्रीहरु कपिल जिसि, हिमाल केसी र सत्यराम न्हिसुतु निर्णायकको भूमिकामा रहेका थिए । स्वच्छन्द भैरव युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो । २५ वर्षदेखि लगातार प्रतियोगिता आयोजना गरिँदै आएको क्लबका अध्यक्ष पुण्यमान बलामीले बताए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्