मकवानपुर थाहानगरको झम्केश्वरी माविमा संचालित बिटिसि ३६७ औं पिटिसि आधारभूत तालिमको एक समारोहका बिच २१ साउनमा समापन गरिएको छ । १६ साउनबाट शुरु गरिएको तालिम समापन समारोह नेपाल स्काउटका केन्द्रिय सदस्य विरेन्द्र ध्वजको प्रमुख आतिथ्यमा भएको थियो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल स्काउटका केन्द्रिय सदस्य विरेन्द्र ध्वजुले ऐतिहासिक थाहानगर भित्र स्काउटको तालिम गर्न पाउँदा गर्व लागेको बताउँदै ‘एक घर, एक स्काउट’को अभियान अन्तर्गत हरेक पालिकामा आधारभुत तालिम सम्पन्न गर्ने अभियान नै संचालन भैरहेको बताए । अभियान अन्तर्गत भएको तालिम पश्चात् आफुले सिकेका कुरा आफ्नो विद्यालयमा लागू नगर्दासम्म तालिमबाट प्राप्त प्रमाणपत्रको औचित्य नहुने बताउँदै सामाजिक रुपमा परिवर्तन गर्न नेतृत्वदायी भुमिका स्काउटले गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका महत्वपूर्ण हुने धारणा राखे । ध्वजुले स्थानीय वा विद्यालय स्तरमा स्काउट विकासका लागि नितिगत तथा प्राविधिक सहयोग चाहिय नेपाल स्काउट हरदम तयार रहेको बताए । उनले ७० वर्षको इतिहासमा बल्ल नेपाल स्काउट स्थानीय तहमा पुगेकोले अब क्रमशः बिस्तार हुनेमा आशा व्यक्त गरे ।
स्थानीय स्काउटका संरक्षक तथा थाहानगर प्रमुख विष्णु विष्टले स्काउटको महत्व, भुमिका आवश्यक ठानेर थाहानगरको सम्पुर्ण स्कुलमा स्काउट स्थापना गर्नको निम्ति पालिकाको पहल अनुसार कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । समाजमा रहेका विकृती बिसंगतीको अन्त्य तथा विपद व्यबस्थापनमा नगरमा अब्बल ठहरिने विश्वास व्यक्त गरे । नगर प्रमुख विष्टले स्काउट गतिविधि थाहानगरमा विस्तार गर्नुपर्ने आवश्यकता आफुले देखेको बताउँदै बिना बर्दिका सेना स्काउट भएकोले ठीक ढंगले सदुपयोग हुने विश्वास ब्यक्त गरे । विष्टले थाहानगरका सम्पूर्ण विद्यालयमा स्काउट स्थापना गर्न थाहानगर प्रतिबद्ध रहेको बताए ।
तालिम समापनको अवसरमा दिक्षित भएका स्थानीय स्काउटका प्रमुख तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले स्काउटको माध्यमबाट थाहानगरमा सकारात्मक सोचको विकास हुने अपेक्षा सहित आफू दिक्षित भएपछि आफ्नो जीवनमा ठूलो जिम्मेवारी थपिएको महशुस गर्दै ६ दिनसम्म सिकेका स्काउट तालिमलाई आफ्नो विद्यालय र समाजमा लागुहुने विश्वास व्यक्त गरे । गोपालीले स्काउटसंग सहकार्य गरेर अगाडि बढ्दै निरन्तर सहयोग भैरहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका अतिथी तथा नेपाल स्काउट बागमती प्रदेशका सल्लाहकार केशरत्न बज्राचार्यले समाजमा आइपर्ने आपत विपदलाई सहयोग पु¥याउन स्काउट अत्यन्त आवश्यक रहेको औल्याउँदै एक विद्यालय एक युनिट, एक परिवार एक स्काउट सदस्य निर्माण गर्न तालिमले टेवा दिने बताए ।
छ दिनसम्म तालिममा सहभागी शिक्षक भुमिराज अवस्थीले ६ दिन ५ रात एकै स्थानमा बसी स्काउटलाई बुझ्ने सुनौलो अवसर पाएकोमा खुशी व्यक्त गर्दै स्थानीय स्काउट तथा प्रशिक्षकलाई धन्यवाद दिदै स्काउट गतिविधिमा सँधै समर्पित रही नगर भित्र स्काउट गतिविधिलाई प्रोत्साहन गर्न तत्पर रहिरहने प्रतिवद्धता व्यक्त गरे ।
तालिममा अर्का सहभागी शसिकला काफ्लेले आफुहरुमा अनुशासन र मर्यादा तथा देशभक्त बन्न यो तालिमले मद्दत गरेको बताउँदै आफुले अध्यापन गर्ने विद्यालयमा सिकेको कुरा व्यवहारमा लागू गर्ने बताइन् । प्रमोद सिग्देल ५०५ औं बिटिसि कोर्ष लिडर प्रमोद सिग्देलले जीवन उपयोगी शिक्षा स्काउटको माध्यमबाट सिकाउन पाउँदा खुसी व्यक्त गर्दै तालिममा सिकेको सीप आआफ्नो विद्यालयमा गएर विद्यार्थी भाइबहिनीलाई सिकाउनेमा विश्वास व्यक्त गरे ।
तालिममा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा थाहानगरका स्थानीय संयोजक गणेशमान श्रेष्ठले स्काउटप्रति स्थानीय विद्यालयको सद्भाभ तथा जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै थाहानगरले स्काउटको संस्थागत विकासमा गरेको सहयोगप्रति पनि खुशी व्यक्त गरे श्रेष्ठले व्यक्तित्व विकासको निम्ति सहयोग रहिरहने बताए । थाहानगरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाका संयोजक श्रेष्ठले जानकारी दिए ।
तालिममा थाहा नगरपालिकाका १९ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयका शिक्षकहरु, स्थानीय स्काउट समिति र समुदायबाट गरी ६४ जनाको सहभागिता रहेको थियो । सहभागी मध्ये महिला र पुरुषको संख्याा आधा–आधा रहेको तालिममा चितवनका दुई जनाको सहभागिता रहेको थियो भने छिमेकी पालिका कैलाश, मनहरी र इन्द्रसरोवरका स्थानीय स्काउटका प्रतिनिधि सहभागीता रहेको थियो ।
तालिममा पुरुषतर्फका कोर्ष लिडर प्रमोद सिग्देल र महिला तर्फका कोर्ष लिडर मुना तामाङ लामाले प्रशिक्षण दिएका थिए भने अशोक सारु मगर र सुमित्रा लामाले प्रशिक्षणमा सघाएका थिए । त्यसैगरी यसअघि आधारभूत तालिम लिइसकेका ८ जना काउन्सिलरहरु पनि सहजीकरणमा खटिएका थिए ।
स्थानीय स्काउट थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापन समारोहमा नेपाल स्काउटका बागमती प्रदेश सल्लाहकार केशरत्न बज्राचार्य, थाहानगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनाल, पालुङ जेसीजका अध्यक्ष जयराम खत्री, प्याव्सन थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ मोर्डन स्कुलका संचालक मनोज रायमाझी, झम्केश्वरी माविका प्रधानाध्यापक उद्धव आचार्य, जनकल्याण माविका सहायक प्रधानाध्यापक कृष्ण बहादुर विष्ट, पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल, बज्रवाराही माविका प्रधानाध्यापक रमेशमान डंगोल, इन्द्रायायणी माविका प्रधानाध्यापक नारायण बहादुर कार्कीलगायतका उपस्तिथि रहेको थियो ।
स्थानीय स्काउट समितिका संयोजक श्रेष्ठका अनुसार थाहा नगरपालिका र मातहतका शाखाहरु, स्थानीय संघसंस्था, निजी क्षेत्र र व्यक्तिहरुबाट सहयोग जुटाएर तालिम सञ्चालन गरिएको हो । तालिमका लागि नगरपालिकाको विपद व्यवस्थापन शाखाबाट चामल र तेल, शिक्षा शाखाबाट रु. ७ हजार बराबरको स्टेशनरी सामग्री, स्वास्थ्य शाखाबाट प्राथमिक उपचार सामग्री र स्वास्थ्यकर्मी, पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाबाट डायरी, कलम र क्लियर ब्याग सहयोग प्राप्त भएको संयोजक श्रेष्ठले बताए ।
त्यसैगरी, गीताराम केसी, नरेन्द्र अधिकारी, दिपेन्द्र विष्ट, हरि विष्ट, सुदिप अधिकारी, विनोद ढकाल, मधुकर कार्कीसहितको समूहबाट १०० केस मिनिरल वाटर (पानी) प्राप्त भएको पनि उनले जानकारी दिए । ओखरबजार निवासी धर्म प्रधानले प्याज र मसला, कुटीप्वाकल निवासी अमृत गोलेले ३० किलो आलु, ओखरबजार निवासी हरिहर श्रेष्ठले मसला, रमेश लामिछानेले हरियो तरकारी र सुविसु होमस्टे चित्लाङले सहभागीहरुलाई नुहाउने र भाँडा माझ्ने साबुन सहयोग गरेका छन् । एरोनेट ले ईन्टरनेट, शिखर सप्लायर्स शिखरकोट, श्रेष्ठ वेयर सर्टिङ–सुटिङ टेलरिङ वागबजारका नरेन्द्र श्रेष्ठ, बज्रवाराही बचत तथा ऋण सहकारी संस्था र अध्याय रिसोर्टले भने नगद सहयोग गरेका आयोजकले जनाएको छ ।
तालिमका लागि विहानको खाजा, कुखुराको मासु, मायाको चिनो, प्रशंसापत्र, हरियो तरकारी, माछा, खसीको मासु लगायत सहयोग आयको संयोजक श्रेष्ठले जानकारी दिए । सबै सहयोग, आम्दानी तथा खर्चको २१ साउनमा भएको तालिम समापन कार्यक्रममा सार्वजनिक परीक्षण (पब्लिक अडिट) गरीएको थियो ।
तालिम समापन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीलाई स्काउटबाट दिक्षित गरी स्थानीय स्काउट थाहानगर प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यक्रमका सहयोगीहरुलाई प्रसंसापत्र, सहभागीहरुलाई प्रमाणपत्र तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरीयको थियो ।

















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्