हेटौंडा उपमहानगरपालिका–४ मा विभिन्न पूर्वाधार विकासका काम पूर्वाधार विकासका कामहरू तीव्र गतिमा अगाडि बढिरहेको कार्यालयले जनाएको छ । वडा कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरिएका योजनाहरूअन्तर्गत सडक कालोपत्रे, ढल व्यवस्थापन, शैक्षिक भवन निर्माण, र सामाजिक संरचनाहरूको विकासलाई प्राथमिकतामा राखिएको छ। हाल धेरैजसो योजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् भने केही महत्त्वपूर्ण आयोजनाहरू बोलपत्र (टेण्डर) र सम्झौताको अन्तिम चरणमा पुगेका छन्।

वडाध्यक्ष नवीन सिग्देलले विकासलाई साझा विषयका रूपमा अघि बढाइएको बताउँदै जनताको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिएका छन् । उनले शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा–संस्कृति, महिला, बालबालिका, अपाङ्गता, मुस्लिम, दलित तथा ज्येष्ठ नागरिक लक्षित योजनालाई विशेष प्राथमिकता दिइएको बताएका छन् ।

हाल निर्माणाधीन योजनामध्ये रजतजयन्ती सडक, हुप्र पूर्वी क्षेत्र र वडा प्रहरी कार्यालय अगाडिको सडक निर्माण कार्य उल्लेखनीय रूपमा अगाडि बढिरहेको वडा कार्यालयले जनाएको छ । यद्यपि कालोपत्रेका लागि आवश्यक निर्माण सामग्री अभावका कारण केही काम प्रभावित भएको निर्माण व्यवसायीहरूले बताएका छन् ।
त्यस्तै, श्रमिक माध्यमिक विद्यालयमा ४ तले २४ कोठे भवन निर्माण भइरहेको छ भने भुटनदेवी माध्यमिक विद्यालयको प्राविधिक भवनको दोस्रो तला निर्माण कार्य पनि जारी रहेको छ ।

वडामा नदी कटान नियन्त्रण, भित्री सडक स्तरीकरण तथा सामाजिक संरचना निर्माणका काम पनि अगाडि बढिरहेका छन् । गर्दोही फनडेरी पछाडि कर्रा नदी कटान रोक्न ढुंगाको बाँध निर्माण भइरहेको छ भने गिरीटोल र गर्दोही क्षेत्रका भित्री सडक स्तरीकरणको काम सञ्चालन तथा तयारी अवस्थामा रहेको जनाइएको छ ।
क्रियापुत्री भवन तथा सामाजिक संस्कार समिति गर्दोहीको पर्खाल र परिसर निर्माण कार्य पनि भइरहेको छ । त्यस्तै, हुप्र चौरमा ज्येष्ठ नागरिकका लागि आश्रय कक्ष निर्माण भइरहेको वडा कार्यालयले जनाएको छ । उक्त चौरलाई खुला, सफा र लोकतान्त्रिक सार्वजनिक स्थलका रूपमा विकास गर्दै प्रदेशकै उत्कृष्ट पार्क र चौर बनाउने लक्ष्य लिइएको वडाध्यक्ष सिग्देलले बताएका छन् ।

यसैबीच, सूर्यचोकदेखि कर्राचोकसम्म ढलसहित सडक स्तरीकरण, प्रजातान्त्रिक पथ क्षेत्रमा ढलसहित सडक निर्माण तथा सिर्जना टोलमा ढल निर्माणलगायतका योजना बोलपत्र तथा सम्झौताको प्रक्रियामा रहेका छन् । अजरअम्मर रोडको पेटी स्तरीकरण कार्य पनि अगाडि बढाउने तयारी गरिएको छ ।

प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको पहल तथा वडा कार्यालयको समन्वयमा लाङ्गाली चोकदेखि भुवनेश्वरपथसम्म सडक स्तरीकरण, पशुपति मन्दिरदेखि पारिजातपथसम्म पेटी निर्माण तथा भुवनेश्वरपथदेखि चिसापानी भैरवरोडसम्म पेटी निर्माणको काम अगाडि बढाइने जनाइएको छ ।

उपमहानगरपालिकाको गौरव योजनाअन्तर्गत भुटनदेवी माध्यमिक विद्यालयमा १२ कोठे भवन निर्माण गरिने भएको छ । साथै हेटौंडा उपमहानगरपालिका र सडक बोर्डको सहकार्यमा हुप्रको पानी ट्यांकीदेखि भुवनेश्वरपथसम्म १२ मिटर कालोपत्रे, मित्रनगर सडक मर्मत तथा अजरअम्मर रोड ओभरल्यापिङ कार्य पनि सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी