राक्सिराङ गाउँपालिका–३, लावतीकी कान्छी माया चेपाङको परिवार आगलागीका कारण पूर्ण रूपमा घरविहीन बनेपछि सुरक्षित आवास प्राप्त भएको छ । श्रम संस्कृति पार्टीको सक्रिय पहल र स्थानीय सहयोगमार्फत एक महिनाभित्रै दुई कोठे पक्की घर निर्माण गरी शुक्रबार हस्तान्तरण गरिएको हो ।

गत ४ चैत्रमा भएको आगलागीमा चेपाङ दम्पतीले आफ्नो शरीरमा भएको एक सरो लुगा बाहेक घरभित्रका सम्पूर्ण सामग्री, खाद्यान्न तथा लत्ताकपडा जोगाउन सकेनन् । घरमा आगो लागेको खबर पाएपछि हतारिँदै फर्किएका उनीहरू आफ्नै आश्रयस्थल खरानी बनेको दृश्य टुलुटुलु हेर्न बाध्य भएका थिए । घटनापछि तत्कालै श्रम संस्कृति पार्टीका युवा नेता रुद्र मुक्तानको संयोजकत्वमा राहत तथा पुनर्निर्माण अभियान सञ्चालन गरिएको थियो । दोस्रो दिनमै पीडित परिवारलाई १२ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको थियो ।

त्यसपछि सामाजिक सञ्जालमार्फत सहयोग अपिल गर्दै घर निर्माण अभियान अघि बढाइएको थियो । अभियान अन्तर्गत कुल २ लाख ५ हजार १६६ रुपैयाँ संकलन गरिएको थियो । आवश्यक रकम संकलन भएसँगै अभियान रोकिएको थियो ।संकलित रकम, श्रमदान, निर्माण सामग्री तथा ढुवानीमा सहयोगका कारण छोटो समयमै घर निर्माण सम्पन्न भएको हो । निर्माण कार्यमा श्रम संस्कृति पार्टीको ‘श्रम अभियान’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

श्रम संस्कृति पार्टी राक्सिराङ गाउँ कमिटी अध्यक्ष मानबहादुर मुक्तान, उपाध्यक्ष सुकुमान योन्जन, युवा नेता रुद्र मुक्तान तथा केन्द्रीय सदस्य मन्दिरा मुक्तान लगायतको सक्रियतामा पीडित परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको हो । एलानी जग्गा र नागरिकता अभावका कारण राज्यबाट तत्काल सहयोग सम्भव नभएको अवस्थामा सामाजिक पहलले ठूलो राहत पुगेको संयोजक मुक्तानले बताएका छन् ।

नवनिर्मित घर राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष उत्तम वाइवा, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । घर, खाद्यान्न र आवश्यक सामग्री सहयोग पाएपछि भावुक बनेकी कान्छी माया चेपाङले “यो गुन कहिल्यै बिर्सन सक्दिनँ” भन्दै खुशीका आँसु झारेकी थिइन् । चेपाङ परिवारमा श्रीमान् र एक छोरासहित तीन सदस्य रहेका छन् ।साथै समितिले घरमा विद्युत् जडानका लागि मिटर बक्स समेत खरिद गर्ने र जडान प्रक्रिया अगाडि बढाउने जनाएको छ । बाँकी रहेको ५ हजार ५ सय रुपैयाँ नगद समेत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

पालिका प्रेस
थप जानकारी