मकवानपुरको राक्सिराङ गाउँपालिकाभित्र रहेका चेपाङ बस्तीहरूमा विद्युतीकरण विस्तार तथा जीर्ण बनेका काठका विद्युतीय पोल हटाउने विषयमा संघीय सरकारको ध्यानाकर्षण गराइएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लको नेतृत्वमा गएको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर मन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरी विद्युत् सेवा विस्तार र जोखिमयुक्त काठेपोल विस्थापनका लागि माग राखेको हो।
चेपाङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा विद्युत्, सडकजस्ता आधारभूत पूर्वाधारको पर्याप्त पहुँच नहुँदा स्थानीय बासिन्दाको आर्थिक अवस्था कमजोर र दैनिक जीवन कष्टकर बनेको भन्दै समस्याको शीघ्र समाधान आवश्यक रहेको धारणा टोलीले राखेको अध्यक्ष मल्लले जानकारी दिए। विद्युतीकरण पुगेका स्थानहरूमा समेत पुराना काठका पोलका कारण दुर्घटनाको उच्च जोखिम रहेको उल्लेख गर्दै ती पोलहरूलाई सुरक्षित संरचनाबाट प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
गाउँपालिकाले वडा नं. २ को जम्मुओढार क्षेत्रमा नयाँ विद्युत् लाइन विस्तार गर्न तथा माछाबेसी, थुम्की, आँपबारी, बरेटार, कालीधाप, सिमिटार, निङराङ, स्यामाङलगायत स्थानमा रहेका काठेपोल हटाउन आग्रह गरेको छ। त्यस्तै वडा नं. ३ को गुल्मेटदेखि चमेरो गुफासम्म, वडा नं. ४ का बिन्देश, लुभुटी, छाकाडाँडालगायत क्षेत्र, साथै वडा नं. ५, ६, ७ र ९ का विभिन्न स्थानमा विद्युत् सेवा विस्तारको माग गरिएको छ।
यसका अतिरिक्त वडा नं. २, ३, ४ र ७ अन्तर्गत थुम्की, आँपबारी, केराबारी, आलखोप, सरिखेत, लुथरी, भोल्र्याङ, रानीवाङ, हात्तीछाल चौतारा, जिर्खेडाँडा, घट्टखोला र माइसिराङलगायत स्थानमा रहेका जीर्ण काठका पोल हटाउन विशेष रूपमा जोड दिइएको छ।
मन्त्री श्रेष्ठले गाउँपालिकाबाट उठाइएका मागहरूलाई सकारात्मक रूपमा लिएको र चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

















































पालिका प्रेस 















प्रतिक्रिया दिनुहोस्