विश्वभर बुधबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेपछि नेपालमा पनि पहिलो पटक औपचारिक रूपमा यो दिवस मनाइएको हो।
नेपालकै प्रस्तावमा यो दिवस अन्तर्राष्ट्रिय रूपमा अनुमोदन भएपछि देशभर यसको महत्त्व झनै बढेको छ। सोही सन्दर्भमा मकवानपुरको थाहा नगरपालिकाले पनि ‘आरोग्य थाहा’ अभियानअन्तर्गत विशेष कार्यक्रम आयोजना गर्दै पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको छ।
नगरपालिकाले यस कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरी योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले ‘आरोग्य नगर’ निर्माणलाई दीर्घकालीन लक्ष्यका रूपमा अघि सारिएको जानकारी दिए। उनले भने, ‘हामीले विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नगरी नागरिकको स्वास्थ्य, मानसिक सन्तुलन र जीवनशैलीसँग जोड्न खोजेका छौँ।’

उनका अनुसार आगामी आर्थिक वर्षहरूमा आरोग्यसम्बन्धी कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गर्दै संस्थागत रूपमा अघि बढाइनेछ। कार्यक्रममा जीवन विज्ञानका संस्थापक गुरुदेव रमेश नेपालको विशेष उपस्थिति रहेको थियो। उनले आरोग्य जीवनशैलीको महत्त्वबारे प्रवचन दिँदै आधुनिक जीवनशैलीका कारण बढ्दो रोगको जोखिमलाई कम गर्न खानपान, व्यवहार, सोच र जीवनशैलीमा परिवर्तन आवश्यक रहेको बताए।
उनले नेपालकै पहलमा अन्तर्राष्ट्रिय स्तरमा आरोग्य दिवस मनाउने निर्णय हुनु देशका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले विश्वसमुदायमा नेपाललाई चिनाउने अवसरसमेत प्रदान गरेको बताए। त्यस्तै, नगरप्रमुख विष्णुबहादुर विष्टले थाहा नगरपालिकाले विगतदेखि नै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा प्राथमिकताका साथ काम गर्दै आएको उल्लेख गर्दै अब ‘आरोग्य नगर’ निर्माणलाई नयाँ अभियानका रूपमा अघि बढाइएको बताए। उनले स्थानीय सरकारको पहलमा नागरिकको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखिएको बताए।

नेपालले अन्तर्राष्ट्रिय स्तरमा आरोग्य दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघको महासभाले गत फागुन २६ गते अनुमोदन गरेको थियो। यससँगै नेपालले स्वास्थ्य क्षेत्रमा निवारणमुखी अवधारणालाई विश्वमाझ स्थापित गर्ने अवसर पाएको छ। आरोग्य दिवसको मूल मर्म रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने उपायमा केन्द्रित रहेको छ। स्वस्थ जीवनशैली, नियमित व्यायाम, सन्तुलित आहार, मानसिक स्वास्थ्यको ख्याल तथा मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण र रोकथामयोग्य रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

थाहा नगरपालिकाले ‘आरोग्य नगर’ बनाउने लक्ष्यसहित सुरु गरेको यो अभियानलाई स्थानीय तहबाट स्वास्थ्यप्रति जनचेतना फैलाउने महत्वपूर्ण पहलका रूपमा लिइएको छ। यसले नागरिकलाई आफ्नै स्वास्थ्यप्रति जिम्मेवार बनाउँदै दीर्घकालीन रूपमा स्वस्थ, सक्षम र उत्पादक समाज निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। नेपालकै पहलमा सुरु भएको अन्तर्राष्ट्रिय आरोग्य दिवसले अब विश्वभर स्वास्थ्यप्रति नयाँ दृष्टिकोण स्थापित गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको जीवन विज्ञान समूहले बताएका छन्।

















































पालिका प्रेस 















प्रतिक्रिया दिनुहोस्