मकवानपुरको थाहा नगरपालिका पछिल्लो समय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा क्रमशः परिचित हुँदै गएको छ। यहाँ पौराणिक महत्व बोकेको ‘शंखमूल’ अवस्थित छ, जहाँ अहिले मोक्षधाम निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ। यसले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
गर्मी याममा शीतल हावापानीको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटकहरू सिमभञ्ज्याङ, दामन र चित्लाङ जस्ता क्षेत्रहरूमा पुग्ने गरेका छन्। प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाका केन्द्रहरू समेत रहेको थाहा नगरपालिका धार्मिक पर्यटनका लागि आकर्षक बन्दै गएको छ।

पशुपतिनाथस्थित शंखमूल र थाहा नगरपालिकाको त्रिवेणी शंखमूललाई विश्वका तीन प्रमुख शक्तिशाली शंखमूलमध्येमा गणना गरिन्छ। धार्मिक गुरुहरूका अनुसार यसको पौराणिक महत्व ‘नेपाल महात्म्य हिमवत खण्ड’मा समेत उल्लेख गरिएको छ। विश्वका तीन प्रमुख शंखमूलमध्ये एक पशुपतिनाथमा, अर्को थाहामा र तेस्रो भारतमा रहेको मान्यता छ।यस ऐतिहासिक तथा धार्मिक महत्वलाई विश्वसामु चिनाउने उद्देश्यले शंखमूल क्षेत्रमा संरचना निर्माण कार्य अघि बढाइएको हो । मोक्षधाम परिसरमा शंखकै आकृतिमा १०८ वटा धारा निर्माण गर्ने योजना रहेको छ। थाहा नगरपालिकाका मेयर विष्णु विष्टका अनुसार लामो समयसम्म पर्याप्त प्रचार–प्रसार हुन नसक्दा यो क्षेत्र ओझेलमा परेको थियो। अब भने यसको संरक्षण र प्रवद्र्धनमार्फत देशव्यापी रूपमा परिचित गराउने लक्ष्य लिइएको छ।

नगरपालिकाले शंखमूल मोक्षधामलाई गौरवको योजनाका रूपमा समेट्दै चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ विनियोजन गरेको छ। साथै, १०८ धारा निर्माणका लागि दाताबाट सहयोग संकलन गर्ने योजना बनाइएको छ। प्रत्येक धाराको लागत करिब ४० हजार रुपैयाँ अनुमान गरिएको छ, र दाताहरूको नाम सम्बन्धित धारामा उल्लेख गरिने बताइएको छ ।

थाहा नगरपालिका–३ घट्टेचौरमा निर्माणाधीन मोक्षधाममा विशाल शंख, मन्दिर, पार्क, होमकुण्ड तथा तीर्थकुण्ड निर्माण गरिनेछ। ऋषेश्वरबाट उत्तरतर्फ बगेको नारायणी नदी र त्रिवेणीघाटबाट पूर्वतर्फ बगेको नदीको संगमस्थललाई नै शंखमूल गंगा मानिने जनविश्वास रहँदै आएको छ। –सुनिता विष्ट

पालिका प्रेस
थप जानकारी