विद्यालय शिक्षा परीक्षा (एसईई) नजिकिँदै जाँदा मकवानपुरमा परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको आयोजनामा आइतबार सम्पन्न उक्त कार्यक्रममा परीक्षा सञ्चालनसम्बन्धी विविध पक्षमा छलफल गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रश्नपत्रको सुरक्षा, परीक्षा केन्द्रको संवेदनशीलता, तयारी अवस्था तथा समग्र व्यवस्थापनबारे अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा इकाइ प्रमुख सुदीप गिरिले जिल्लाका २८ वटा परीक्षा केन्द्र रहेका विद्यालयहरूको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
यसका साथै परीक्षालाई मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गर्ने तथा विद्यार्थी अनुशासन कायम गर्ने विषयमा समेत केन्द्राध्यक्षहरूसँग छलफल भएको थियो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, सशस्त्र प्रहरी उपरीक्षक नीवनकुमार खड्कालगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तय भएको छ। मकवानपुरका १० वटै स्थानीय तहमा रहेका २८ विद्यालयलाई परीक्षा केन्द्रका रूपमा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्