पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा लामो समयदेखि रोकिएका दुई वडा कार्यालय भवनको निर्माण प्रक्रिया अघि बढाइएको छ। गाउँपालिकाका अनुसार वडा नम्बर ३ र ४ का भवन निर्माण कार्य अहिले सुरु भइसकेका छन्।

स्थानीय तहको अघिल्लो कार्यकालमा अधिकांश वडाका भवन निर्माणको पहल भए पनि वडा ३ मा बजेट अभाव र वडा ४ मा उपयुक्त जग्गा नहुँदा काम अघि बढ्न सकेको थिएन। वडा ४ का वडाध्यक्ष प्रकाश थापाका अनुसार भवनका लागि आवश्यक जग्गा पहिचान र सहमति जुटाउन ढिलाइ हुँदा निर्माण समयमै हुन सकेन।

हाल भने चालु आर्थिक वर्षमा वडा ४ को मध्यभागमा पर्ने नरसिंहटाँडी क्षेत्रमा भवन निर्माण सुरु गरिएको छ। सो स्थानमा स्थानीय पदमबहादुर थापा र गोकर्ण थापाले जनही एक–एक कठ्ठा जग्गा उपलब्ध गराएपछि परियोजना अघि बढेको हो।

करिब १ करोड ६४ लाख रुपैयाँ लागतमा बन्ने भवन साढे दुई तल्लाको हुने जनाइएको छ। निर्माणको जिम्मा अमिरा सप्तलक्ष्मी जेभीले लिएको छ र हाल पहिलो तल्लाको ढलानको तयारी भइरहेको छ।

यसअघि गाउँपालिकाका वडा नम्बर १, २, ५, ६, ७ र ९ मा कार्यालय भवन निर्माण भइसकेका छन् भने वडा ८ मा पुरानै संरचना पर्याप्त भएकाले नयाँ भवन आवश्यक नरहेको बताइएको छ। वडा ३ भने हालसम्म पुरानै भवनबाट सञ्चालनमा रहेको छ।

पालिका प्रेस
थप जानकारी