प्राकृतिक तथा गैरप्राकृतिक विपद्का कारण बागमती प्रदेशमा एक दशकको अवधिमा साढे १६ हजार परिवार प्रभावित भएका छन् । २०७२ देखि २०८२ सम्मको अवधिमा प्रदेशभर छ हजार ८३९ विपद्का घटनामा १६ हजार ६५३ परिवार प्रभावित भएका छन् ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको तथ्यांकअनुसार विपद्का कारण एक हजार ३८ जनाको मृत्यु भएको छ । १८१ जना बेपत्ता र दुई हजार ३११ जना घाइते भएका छन् । यस अवधिमा पाँच हजार ८९६ आंशिक तथा चार हजार ७२७ घरमा पूर्णक्षति पुगेको छ । विपद्का कारण करिब छ अर्ब ९५ करोड ४१ लाख ७१ हजार ७१८ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अधिकृत रविता कार्कीले प्रस्तुत गरेको तथ्यांकअनुसार जिल्लागतरुपमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा पाँच हजार ४७८ परिवार प्रभावित भएका छन् । काठमाडौंमा दुई हजार ६७९, चितवनमा एक हजार ५८९, रसुवामा एक हजार ३११ परिवार प्रभावित भएका छन् । मकवानपुरमा ९५५, सिन्धुपाल्चोकमा ८४२, ललितपुरमा सात सय, सिन्धुलीमा ६४७, रामेछापमा ६०९, दोलखामा ४५३, नुवाकोटमा ४२९, धादिङमा ४२६ र भक्तपुरमा ५३५ परिवार प्रभावित भएका छन् । काठमाडौँमा एक हजार ७७८ विपद्का घटनामा ११३ जनाको मृत्यु भएको थियो । भक्तपुरमा ४५९ घटनामा १९ जनाको मृत्यु भएको छ भने ललितपुरमा छ सय घटनामा ७८ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी मकवानपुरमा ७३५ घटनामा ११२, चितवनमा ५६३ घटनामा १४१, धादिङमा ३२६ घटनामा ९० जनाको मृत्यु भएको छ । नुवाकोटमा २९९ घटनामा ३६, रसुवामा २३० घटनामा ५३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा ४४१ घटनामा ११६, काभ्रेपलाञ्चोकमा ४६० घटनामा ११९, सिन्धुलीमा ३५० घटनामा ६८, रामेछापमा २५१ घटनामा ४१ र दोलखामा ३४७ घटनामा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

एक दशकको अवधिमा प्रदेशमा ९२८ पहिरोका घटनामा ४६७ जनाको मृत्यु भई छ हजार ५९२ परिवार प्रभावित भएका छन् । चार हजार २३ आगलागीका घटनामा १८० जनाको मृत्यु भएको छ भने चार हजार ९४८ परिवार प्रभावित भएका छन् । ३७२ चट्याङका घटनामा ११४ र ३४१ बाढीमा १०० जनाको मृत्यु भएको छ । जनावरका कारण ३३८ घटनामा ७३ जनाको मृत्यु भएको छ भने चार पटकको हवाई दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् । भारी वर्षा, हावाहुरी, लेकलाग्ने, जंगलमा आगलागी, सर्पदंश, हिमपहिरो र ढुुंगा दुर्घटनाबाट पनि मानवीय क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयले मनसुनजन्य तथा आगलागीजन्य विपत् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि १६ करोड ५७ लाख पाँच हजार रुपैयाँ लागत साझेदारी उपलब्ध गराएको जनाइएको छ । स्थानीय तहमा स्वयंसेवक समूह गठन, राहत सामग्री वितरण, क्षमता विकास तालिम, सचेतनामूलक कार्यक्रम तथा कृत्रिम अभ्यास सञ्चालन गर्दै आएको जानकारी दिइएको छ । विपद्का कारण ठूलो क्षति व्यहोर्दै आएको बागमती प्रदेशमा विपद् व्यवस्थापनका कार्य अझै चुनौतीपूर्ण देखिएका छन् ।

मन्त्रालयका अनुसार नीतिगत, प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा समस्या देखिएको हो । मन्त्रालयका अनुसार विपद् व्यवस्थापनका लागि सबैभन्दा ठूलो अवरोध बजेट निर्माणको प्रक्रियामा देखिएको छ । वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा विपद् व्यवस्थापनलाई प्राथमिकतामा नराखिने र निर्माणकार्य गर्दा विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलतालाई ध्यान नदिने प्रवृत्ति रहेको छ । मन्त्रालयकी सूचना अधिकारी कार्कीका अनुसार विपद् व्यवस्थापन प्रणाली ‘प्रतिक्रियात्मक’ मात्र भइरहेको र विपद् जोखिमको पूर्वआँकलन र पूर्वतयारीमा लगानी हुन सकेको छैन । घटना घटिसकेपछि गरिने प्रतिकार्यमा मात्र बढी केन्द्रित हुँदा क्षतिको मात्रा बढेको उनको भनाई छ ।

विपद् जोखिमको वित्तीय व्यवस्थापनका लागि बीमा गर्ने परिपाटीको अभाव पनि ठूलो समस्याको रुपमा देखिएको उनले बताइन् । विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने दक्षजनशक्तिको अभावले थप समस्या देखिएको उनको भनाई छ । जोखिमयुक्त क्षेत्रको पहिचान र जोखिम विश्लेषणका लागि भूगर्भविद्लगायतका प्राविधिक जनशक्ति, प्रदेशभर भएका विपद्का घटना र गरिएका कार्यको एकीकृत विवरण राख्ने प्रणाली र त्यसमा पहुँचको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको उनले बताइन् ।विपद्को समयमा आवश्यक पर्ने राहत र उद्दार सामग्रीको मौज्दात तथा खाद्यान्न, गैरखाद्यान्न सामग्री र उद्दारका आधुनिक उपकरणको अभाव रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार विपद् व्यवस्थापनका लागि तोकिएका विभिन्न विषयगत क्षेत्रहको क्रियाशीलतामा कमी र सरकारी निकायबीच प्रभावकारी समन्वय र सहकार्य हुन नसक्नुले व्यवस्थापनलाई थप जटिल बनाएको छ ।

पालिका प्रेस
थप जानकारी