हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयले विद्यालयको भौतिक पूर्वाधार र शिक्षण–सिकाइको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्ने उद्देश्यसहित आईएसओ प्रमाणीकरणतर्फ प्रक्रिया सुरु गरेको छ । यसका लागि विद्यालयले ग्लोबल क्वालिटी काउन्सिल, नेपालसँग सहकार्य गर्ने गरी औपचारिक सम्झौता गरेको हो। ८ चैत्रमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रधानाध्यापक घिमिरेका अनुसार आईएसओसम्बन्धी आवश्यक मापदण्ड, सूचक र कार्यविधिबारे विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ तथा अनुगमन समितिका सदस्यहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन भइसकेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिग्देलले एक वर्षभित्र, अर्थात् २०८३ चैत मसान्तभित्र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण पूरा गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

उनले विद्यालयको भौतिक संरचनालाई व्यवस्थित र गुणस्तरीय बनाउने तथा शैक्षिक वातावरणलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । ग्लोबल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि शर्माका अनुसार विद्यालयको प्रारम्भिक अवस्थाको मूल्याङ्कन (बस्तुस्थिति परीक्षण) सम्पन्न भइसकेको छ र आगामी तीन वर्षका लागि शैक्षिक गुणस्तर सुधार ढाँचा÷योजना तयार पारिएको छ। उहाँले मकवानपुरका सामुदायिक विद्यालयमध्ये अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्ने पहिलो विद्यालय भुटनदेवी मावि हुने अपेक्षा रहेको पनि बताए ।

विभिन्न चरणमा भएका छलफल र अन्तरक्रियामा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, ग्लोबल क्वालिटी काउन्सिलको टोली, शिक्षक तथा अभिभावक संघ, अनुगमन समिति तथा स्थानीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको र त्यसैको निष्कर्षका आधारमा प्रमाणीकरण प्रक्रियामा जाने सहमति भएको विद्यालयका सह–प्रधानाध्यापक तथा आईएसओ समन्वयकर्ता वेदराज कोइरालाले स्पष्ट पारे ।

पालिका प्रेस
थप जानकारी