हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने न्यून आय भएका नागरिकलाई लक्षित गर्दै लागत प्रभावकारी खर्चमा आवास निर्माण तथा मर्मतका लागि ऋण सहयोग उपलब्ध गराइने भएको छ। उपमहानगरपालिका, लुमन्ती संस्था र कामना सेवा विकास बैंकको सहकार्यमा सञ्चालन हुन लागेको उक्त कार्यक्रममार्फत घर निर्माण र सुधारका लागि वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरिनेछ।

लुमन्तीको आवास निर्माण कार्यक्रमअन्तर्गत सामाजिक सहजकर्ता शान्ति बरुवालका अनुसार उपमहानगरभित्रका न्यून आय भएका व्यक्तिलाई एक ढलान घरसम्म निर्माण वा मर्मतका लागि अधिकतम ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ भने सामूहिक आवास निर्माणका लागि १५ लाख रुपैयाँसम्म ऋण सहयोगको व्यवस्था गरिएको छ। ऋणको ब्याजदर वार्षिक ८ प्रतिशत रहने र सात वर्षसम्म स्थिर रहनेछ। साथै, अग्रिम भुक्तानी गर्न चाहने सेवाग्राहीलाई कुनै अतिरिक्त शुल्क लाग्ने छैन।

कार्यक्रमअन्तर्गत ऋण लिएका सेवाग्राहीले घर निर्माण सम्पन्न भएपछि मासिक करिब १० हजार ५ सय रुपैयाँ किस्ता तिर्नुपर्नेछ भने ऋण लिँदा कुनै सेवा शुल्क नलाग्ने जनाइएको छ। ऋणका लागि सम्बन्धित टोल विकास संस्था र वडा कार्यालयको सिफारिस, जग्गाको लालपूर्जा, नक्सा तथा नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ। साथै, सेवाग्राहीले मालपोत तथा सम्पत्ति कर तिरेको हुनुपर्ने शर्त पनि राखिएको छ। मागका आधारमा उपमहानगरभित्रका लक्षित वर्गलाई आवास निर्माण तथा मर्मतका लागि आवश्यक सहयोग उपलब्ध गराइने कार्यक्रमको लक्ष्य रहेको छ।

पालिका प्रेस
थप जानकारी