दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका–२ स्थित मंगलेश्वर युवा क्लबले जितेको छ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको मंगलबार भएको फाइनलमा मंगलेश्वरले हेटौंडा–११ को छहारी युवा समाजलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो। मंगलेश्वरले २७–२५, २५–२० र २५–१६ को सेटमा जीत दर्ता गरेको थियो।

उपाधिसँगै मंगलेश्वरले नगद एक लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छहारीले ५० हजार रुपैयाँसहित शिल्ड र मेडलमा सीमित रह्यो। सेमिफाइनलबाट बाहिरिएका नवप्रतिभा साँस्कृतिक युवा क्लब (बज्रबाराही) र मनहरीको टोलीले समान १५–१५ हजार रुपैयाँ र मेडल हात पारे।

मकवानपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा मंगलेश्वरका कुशल लामा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै ५ हजार रुपैयाँ नगदबाट पुरस्कृत भए। उत्कृष्ट डिफेन्डरतर्फ विवेक कार्की, उत्कृष्ट स्पाइकरतर्फ छहारीका पुजन गुरुङ, उत्कृष्ट सेटरतर्फ उत्सव आले मगर, उत्कृष्ट ब्लकर प्रवेश कार्की, उत्कृष्ट प्रशिक्षक छहारीका योगबहादुर लामा तथा उदयमान खेलाडी मनहरीका जोशन गौतम घोषित भए। उनीहरूलाई जनही २–२ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

यसअघि सेमिफाइनलमा मंगलेश्वरले थाहा–६ को नवप्रतिभा साँस्कृतिक युवा क्लबलाई २५–१९, २५–१८ र २५–१४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। अर्को खेलमा छहारी युवा समाजले मनहरी गाउँपालिकालाई २८–२६, २५–२३ र २५–१६ ले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो।

पालिका प्रेस
थप जानकारी