मकवानपुरस्थित हेटौंडा अस्पतालमा निर्माण गरिएको नयाँ आधुनिक भवन उद्घाटन गरिएको छ। करिब २८ करोड ५४ लाख रुपैयाँ लागतमा बनेको उक्त भवनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार एक कार्यक्रमबीच गरेका हुन्। उनले प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको अस्पताल परिसरमा तीन वटा ब्लकसहितको भवन तयार गरिएको हो। भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा क्षमता उल्लेख्य रूपमा बढ्ने र थप २ सय शय्या थपिने जनाइएको छ। यससँगै अस्पतालको कुल शय्या क्षमता ५ सय पुग्नेछ।

सहरी विकास तथा भवन कार्यालय हेटौंडाले निर्माण गरेको संरचनामध्ये एउटा ब्लक अण्डरग्राउण्डसहित ६ तले रहेको छ भने अन्य दुई ब्लक पाँच–पाँच तले छन्। भवनमा लिफ्ट, आगलागी नियन्त्रण प्रणाली, सीसीटीभी निगरानी तथा आधुनिक विद्युत र स्यानिटरी प्रणाली जडान गरिएको छ। साथै भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरेर भवन निर्माण गरिएको जानकारी दिइएको छ।

प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि ओपीडी, आकस्मिक कक्ष, भर्ना वार्ड, प्रयोगशाला, एक्स–रे, फार्मेसी र प्रशासनिक सेवा थप व्यवस्थित रूपमा सञ्चालन गर्न सकिनेछ। यसले सघन उपचार सेवा, सुत्केरी वार्ड, शल्यक्रिया कक्ष र अन्य विशेषज्ञ सेवाहरू विस्तार गर्न पनि सहज हुने उनले बताए।

अस्पतालले आगामी समयमा डायलासिस सेवा विस्तार गर्ने र मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिरहेको जनाएको छ। साथै मुटु रोग उपचार, कार्डियाक केयर, महिला तथा प्रसूति सेवा र मानसिक स्वास्थ्य सेवासमेत थप विस्तार गर्ने योजना रहेको छ।

हाल हेटौंडा अस्पतालले मकवानपुरका साथै बारा, पर्सा र रौतहट जिल्लाबाट आउने बिरामीलाई सेवा दिँदै आएको छ। नयाँ भवन सञ्चालनसँगै क्षेत्रीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ तथा प्रतिष्ठानका पदाधिकारीहरू उपस्थित थिए।

पालिका प्रेस
थप जानकारी