नेपाल सितोरियो कराते संघअन्तर्गत इलाइट कराते ट्रेनिङ सेन्टरद्वारा आयोजित इलाइट कराते खुल्ला राष्ट्रिय प्रतियोगिता २०८२ मा थाहा नगरपालिकाको स्वच्छन्दभैरव डोजो उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

दशरथ रंगशालामा माघ ११ र १२ गते सम्पन्न प्रतियोगितामा देशभरबाट करिब १८ सय खेलाडी सहभागी थिए । प्रतियोगितामा स्वच्छन्दभैरव डोजोले ३ स्वर्ण, १ रजत र ३ कास्यपदक जित्दै समग्रमा तेस्रो स्थान सुरक्षित गरेको प्रशिक्षक रोशन बलामीले जानकारी दिए । पदक विजेतामध्ये भूमिका बलामीले काता विधातर्फ स्वर्णपदक जितिन भने ४० केजी तौल समूहमा र जतपदक हात पारिन् ।

त्यसैगरी ५० केजी तौल समूहमा करन गमालले स्वर्ण, ६० केजी तौल समूहमा निशान बलामीले पनि स्वर्णपदक जित्न सफल भए । पुरुषतर्फ अर्जुन गमालले १३ वर्ष उमेर समूहमा कास्यपदक जित्दा महिलातर्फ सुजता विश्वकर्माले कास्यपदक हात पारिन् । यस्तै, ६० केजी महिला तौल समूहमा संगीता मोक्तानले कास्यपदक जितिन् । स्वच्छन्दभैरव डोजोको यो सफलताले थाहा नगरपालिकाको खेलकुद क्षेत्रमा उत्साह थपिएको बताउदै आगामी प्रतियोगिताका लागि खेलाडीलाई थप प्रेरणा मिलेको थाहा नगर खेलकुद विकास समिति संयोजक टीकाराम स्याङ्तानले बताए ।

पालिका प्रेस
थप जानकारी