हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले वडालाई २०८४ सालभित्र कच्ची, खाल्टाखुल्टी र डुवानमुक्त बनाइने दाबी गरेका छन् । लक्ष्मी टोल विकास संस्थाको ८औँ साधारणसभाको उद्घाटन गर्दै उनले मुख्य बजार क्षेत्रसमेत समेटेको भएकाले ४ नं. वडालाई व्यवस्थित, सुरक्षित र पूर्वाधारसम्पन्न वडाको रूपमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताए ।

उनका अनुसार संघीय सरकार, प्रदेश सरकार र उपमहानगरपालिकासँग समन्वय गर्दै वडाभित्रका सबै सडकको स्तरीकरण कार्य तीव्र रूपमा अघि बढाइएको छ। विगतका काम र उपलब्धिले नै वडावासीमा विश्वास बढाएको वडा अध्यक्ष सिग्देलको भनाइ थियो। सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भाषा–साहित्य, संस्कृति, युवा तथा महिला सशक्तिकरण, विद्यार्थी तथा जेष्ठ नागरिक लक्षित कार्यक्रमसमेत सञ्चालन गरिरहेको जानकारी उनले दिए ।

लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष शान्ति बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल तथा टोल विकास संस्था–४ का समन्वय सदस्य इन्द्रबहादुर थापा मगर विशेष अतिथि रहेका थिए। साधारणसभाले पुनः शान्ति बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संस्थाकी प्रतिनिधि आशा ढकालले जानकारी दिइन् ।

पालिका प्रेस
थप जानकारी