मकवानपुर थाहा नगरपालिका अन्तर्गतका खानेपानी सेवालाई व्यवस्थित बनाउने उद्देश्यले ३० भाद्रमा खानेपानीका ग्रामिण मर्मत संभारकर्ताहरुलाई तालिम दिइएको छ । च्वाइस नेपाल, डोटेरा हेल्पिङ ह्याण्डसको सहयोगमा भएको तालिम स्थानीय समुदाय र थाहा नगरपालिकाको समन्वयमा भएको थियो ।
तालिममा थाहा नगर खानेपानी व्यवस्थापन बोर्ड तथा सामुदायिक खानेपानी उपभोक्ता समितिमा आवद्ध रहेका २५ जना ग्रामिण खानेपानी मर्मतसंभारकर्ताको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई सिटिइभिटी बालाजुका प्लम्बिङ शाखा प्रमुख माधव अधिकारी, च्वाइस नेपालका इन्जिनियर प्रकाश बास्तोला तथा खानेपानी प्राविधिक सुभाष चन्द्र मरहट्टाले प्रशिक्षण दिएका थिए ।

च्वाइस नेपालका मकवानपुर कार्यक्रम संयोजक सुकराम दुलालको विशेष उपस्थितीमा भएको तालिममा थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेलको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा च्वाइस नेपालका जिल्ला कार्यक्रम संयोजक दुलालले गाउँगाउँमा निर्माण भएका खानेपानी योजनाहरुको दीगोपनका लागि यस किसिमको तालिम उपयुक्त रहेको धारणा राखे । उनले लामो समयदेखि थाहा नगरपालिकामा च्वाइस नेपालले खानेपानी, शिक्षा, स्वास्थ्यलगायतको विकास कार्यमा सहकार्य गर्दै आएको बताउँदै क्षमता अभिवृद्धिका कामहरुमा पनि सहकार्य हुँदै आएको उल्लेख गरे । उनले तालिमका सहभागीहरुलाई नगरपालिकासँग समन्वय गरेर खानेपानी प्राविधिकको कार्यक्रम गर्न सकिने बताएका थिए ।

कार्यक्रममा थाहा नगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेलले च्वाइस नेपालले थाहाको समग्र विकासमा मद्दत पुग्ने गरी गरेको सहकार्यको प्रशंसा गरे । नगरमा खानेपानी अभावकै कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र अन्य आधारभूत विकासमा पुगेको असरलाई च्वाइस नेपालको कामले सकारात्मक दिशातर्फ उन्मुख गराएको बताए । च्वाइसँगको सहकार्य निरन्तर रहने बताउँदै समुदायलाई विकास कार्यमा सहकार्य गर्नका लागि आव्हान समेत गरेका थिए । ‘जसले जे संरचना बनाए पनि त्यो समुदायकै सम्पत्ती हो, संस्था वा पालिका त्यसको समन्वयकर्ता मात्र हो’ भुजेलले भने–बनेका विकासका संरचनाहरु संरक्षण गर्ने दायित्व पनि समुदायकै हो । समुदायको सहभागीता र सरकारी तथा गैर सरकारी संस्थाको लगानीबाट मात्र दिगो विकास संभव हुने उनको धारणा थियो ।

कार्यक्रममा सहजकर्ताहरुले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । खानेपानी व्यवस्थापन र योजनाको दीगोपनाका लागि सामुदायिक मर्मत संभारकर्ताको महत्वपूर्ण भूमिका हुने उनीहरुको भनाइ थियो । तालिम समापन कार्यक्रममा च्वाइस नेपालका घनश्याम थापा, थाहा नगरपालिकाका सूचना प्रविधि अधिकृत भगिरथ कार्की, फिल्ड सहायक अच्युत विडारीलगायतकाको उपस्थिती रहेको थियो ।

























































प्रतिक्रिया दिनुहोस्