मकवानपुर थाहा नगरपालिकाको आधारभूत खानेपानी सेवा विस्तार नीति अनुसार वडा नम्बर १२ को लितीगाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । लितीगाउँका २ सय ५ घरमा विस्तार भएको खानेपानी आयोजनाको ३० जेठमा एक समारोहकाबीच नगर प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका हुन् । वि.सं. २०८० सालको २१ कार्तिकमा थाहानगरकै उपप्रमुख भरत गोपालीबाट शिलन्यास भएको आयोजनाको डेढवर्षमै सम्पन्न गरी नगर प्रमुख विष्टले उद्घाटन गरेका हुन् । आयोजनाको काम १८ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको भएपनि सो अगावै निर्माण सम्पन्न भएको हो । खानेपानी उद्घाटनसंगै १२ नम्बर वडाको नागदह, ब्लेटोल, गौराइटोल, नयाँ घर टोल, कुण्डलीलगायतका गाउँबासीको घरघरैमा निर्माण भएको धारामा खानेपानी पुगेको छ ।
खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले आयोजना सम्पन्न गर्नका लागि प्राविधिक र आर्थिक सहयोग जुटाउने च्वाइस नेपालप्रति आभार व्यक्त गरे । उनले विगत लामो समयदेखी थाहानगरको विकासमा च्वाइस नेपालले सहयोग गर्दै आएको फेरिस्त सुनाउँदै भने–‘हाम्रो विकासमा साँझेदारी अनन्तसम्म रहीरहनेछ ।’ नागरिकको आवश्यकतामा केन्द्रित भएर परियोजना सञ्चालन गर्ने च्वाइस नेपालको कार्यप्रति सन्तुष्टी जनाउँदै प्रमुख विष्टले अन्य गैर सरकारी संस्थाले च्वाइसबाट सिक्न आग्रह गरे । लिती गाउँबासीको घरघरमा खानेपानी पुगेको उल्लेख गर्दे आयोजना केवल पानीको प्रवाह नभइ विकासको संकेत भएको बताए । आयोजनाको दीगोपनका लागि थाहानगर खानेपानी व्यवस्थापन बोर्डले सहयोग पु¥याउने विष्टको भनाइ रहेको थियो । बोर्डका अध्यक्ष समेत रहेका विष्टले भने–‘नगरका अन्य क्षेत्रहरुको जस्तै लितीगाउँको खानेपानी व्यवस्थापनका लागि बोर्डले समुदायसंगै मिलेर काम गर्छ ।’

खानेपानी उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि रहेकी च्वाइस युएसएकी सीईओ ह्यादरले समुदायको जीवनस्तरमा सुधार ल्याउन काम गरिरहेको सुनाउँदै मानिसको जीवनसंग प्रत्येक्ष सरोकार राख्ने विकास क्रियाकलापका लागि आफ्नो संस्था प्रतिवद्ध रहेको बताइन् । उनले नेपाली समुदायप्रति सँधै आफ्नो संस्था सकारात्मक रहेको प्रष्ट्याउँदै सकारात्मक परिवर्तनका लागि काम गर्ने बताइन् । उनले यस परियोजनामा संस्थागत सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै लिती खानेपानी परियोजना सम्पन्न गर्न पाएकोमा सबैप्रति आभार व्यक्त गरिन् । उनले थपिन्–‘पानी जीवन हो, हामी जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छौं।’

च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले आयोजनाको सफल कार्यान्वयनमा स्थानीय सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरे । निर्देशक शर्माले समुदायको नेतृत्व, स्थानीयको श्रमदान, इच्छाशक्ति र नगरपालिका तथा वडासंगको सहकार्यका खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको बताए । शर्माले खानेपानी उपभोग गर्ने र सहकार्य गर्ने सबै परियोजनाका धन्यवादको पात्र भएको उल्लेख गरे । समुदायको काम गर्ने तौर तरीका अन्यका लागि पनि सिकाइको विषय भएको प्रतिक्रिया दिए । उनले थाहा नगरपालिकासंग जहिल्यै सहकार्य गर्न तयार रहेको पनि प्रतिवद्धता व्यक्त गरे ।

थाहा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उपस्थित अतिथीहरुलाई लिति आधारभूत स्वासथ्य केन्द्र प्रमुख चमेली तामाङले स्वागत गरेकी थिइन् । सो अवसरमा अन्तरदेशीय सांस्कृतिक आदान–प्रदान अन्तर्गत अमेरिका र नेपाली गित, संगित तथा नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रमकै लागि २७ जेठबाटै च्वाइस युएसएका प्रतिनीधिहरु १२ नम्बर वडाको नागदहमा आएका थिए । उनीहरुले समुदायमा विभिन्न श्रमदान समेत गरेका थिए ।

टिष्टुङको मेल खोला मुहानबाट वितरण गरिएको खानेपानीका लागि १९ किलोमिटर लामो पाइप विस्तार गरिएको छ । आयोजनाका लागि थाहा नगरपालिकाबाट ६० लाख, च्वाइस नेपालबाट ८० लाख र स्थानीय श्रमदान २५ लाख गरी कुल लागत १ करोड ६५ लाख रुपैयाँ बराबरको लागत रहेको च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिए । खानेपानी आयोजनाको ट्याङ्की निर्माणका लागि काले स्याङ्तान, वीर सिंह घलान, श्याममाया वाइवा, फाउते सिंह गोले, राम बहादुर स्याङ्तान र माइली स्याङ्तानले जग्गा दान गरेका थिए । जग्गा दाताहरुलाई पनि ३० जेठमा भएको कार्यक्रममा दोसल्ल ओडाएर प्रशंसा पत्र सहित सम्मान गरिएको छ । सो अवसरमा कार्यक्रममा नागदह आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, थाहा १२ का वडा सदस्यहरु युवराज जिम्बा, सुरेश घलान, सुनिता दर्जी, सुकमाया थिङ, प्रकाश स्याङ्तान, निर्माण समिती अध्यक्ष हिरामान घलान, थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने, थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेल, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल, साना किसान सहकारीका अध्यक्ष किरणमान बल लगायत च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपाने तथा प्राविधिक र कर्मचारीहरु, डोटेरा अमेरिकाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थित रहेको थियो ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्