निर्माणाधीन लिफ्टबाट सुनकोसीको पानी तान्ने परीक्षण सफल भएपछि फिक्कलका चार गाउँमा खानेपानी पुग्ने भएको छ । फिक्कल गााउँपालिका–२ पोखरीमा पाँच सय मिटर तल सुनकोसीबाट लिफ्टिङ गरी उपभोक्ताको घरघरमा पानी पुर्याउन लागिएको हो ।
गाउँपालिकाले आफ्नै लगानीमा लिफ्ट खानेपानी योजना सञ्चालन गरी चन्डिभन्ज्याङ, डडुवा, बबला र गैरीगाउँका दुई सय घरमा पानी वितरण गर्न इन्टेकमा खसालेको छ । सुनकोसीको नवलपुरबाट पानी लिफ्ट गरी झन्डै पाँच सय मिटरमाथि फाल्न सफल भएकाले गाउँमा खुसियाली छाएको छ ।
गाउँपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीका अनुसार ५० हजार घनमिटर क्षमताको इन्टेक ट्यांकीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना छ । सुनकोसीको पानी फागुनभित्र उपभोक्ताको घरघरमा पुर्याउने लक्ष्यसहित अहिले धमाधम योजनाको काम भइरहेको उनले बताए । खानेपानीको चरम अभाव खेपेका ती गाउँका बासिन्दा अब दुःख हट्नेमा आशावादी छन् । ‘घरको एक जनाको काम नै पानी बोक्ने मात्रै छ’, स्थानीय उपभोक्ता उत्तम पहाडीले भने, ‘पानीको अभावमा हिउँद महिना लाग्नासाथ सुक्खा नै हुन्छ ।’
गाउँमा खानेपानी ल्याएको बल्छे खोलाको मुहान भूकम्पले सुकेपछि सुनकोसीको पानी घण्टौं बोकेर ल्याउनुपर्ने बाध्यता छ । सुनकोसीको पानी माथि डाँडामा रहेको इन्टेकमा खसाल्ने काम सकिएको छ । अब पाइपलाइनबाट पानी वितरणको काम बाँकी रहेको वडाध्यक्ष भण्डारीले बताए । तीन वर्षअघि सुरु भएको लिफ्ट खानेपानी योजनामा ६६ लाख रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्