जुन ५ अर्थात विश्व वातावरण दिवस विविध सचेतनामुलक कार्यक्रमको आयोजना गरी २२ जेठमा थाहा नगरपालिकामा मनाइएको छ । ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने विश्वव्यापी नाराकासाथ थाहानगरमा दिवस मनाइएको हो । नगरपालिकाको आयोजना तथा विङ युथको सहकार्यमा कार्यालय परिसर र इन्द्रायणी चौरमा वृक्षारोपन गरिएको छ । दिवसको अवसरमा फूल तथा फलफूलका बिरुवा रोपिएको हो ।
वातावरण दिवसका अवसरमा बजार व्यवस्थापन समिति, टोल विकास संस्था तथा नगरपालिकाका कर्मचारीहरूलाई थाहामै निर्मित वातावरणमैत्री झोला वितरण गरिएको थियो। जनकल्याण माध्यमिक विद्यालयलाई २० थान डस्टबिन प्रदान गरिएको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । यसअघि थाहा नगरपालिकाको वन तथा वातावरण समितिले बजार व्यवस्थापन समिति र टोल विकास संस्थासँग अन्तरक्रिया समेत गरेको थियो।

दिवसकै अवसरमा पालुङ जेसीज र इलाका प्रहरी कार्यालय पालुङको सहकार्यमा बुद्ध चोक, थानाबजारमा सडक सुशासनसम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ । बज्रबाराही बजार व्यवस्थापन समिति, रुप्से किटेनी टोल विकास संस्था, बुद्ध चोक थानाबजार व्यवस्थापन समिति, बागेखोला टोल विकास समिति, सेती गणेश टोल विकास संस्था, स्वास्थ्य चोक बजार व्यवस्थापन समिति, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, जनकल्याण माविको पर्यटन क्लब, थाहा ११ को टिस्टुङ नौखण्डे बजार, चित्लाङ, डाँडाबास, बाघेखोला, दम्की, दामन सिमभञ्ज्याङ, बज्रबाराही मावि, पालुङ मोर्डन इङ्लिस स्कुललगायतका संस्थाहरूले पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरी दिवस मनाएकाछन् ।
कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर बिष्टले स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई व्यवहारमा उतार्न सबैले संकल्प गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तन र प्लास्टिक प्रदूषणको चुनौती समाधान गर्न वृक्षारोपण अपरिहार्य रहेको बताए । हरितगृह ग्यासको उत्सर्जन कम गर्न वन जंगलको संरक्षण, संवद्र्धन र विकासमा जोड दिनुपर्ने उल्लेख गरे ।


































































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्