
मकवानपुरको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२ औं वार्षिक उत्सव मनाइएको छ । ८ जेठमा हेटौंडामा एक समारोहको आयोजना गरी उत्सव मनाइएको हो । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विगत १२ वर्षको सेवा, विकास र चुनौतीहरूको समीक्षा गरेको छ भने भावी योजनाहरू सार्वजनिक गरिएको छ ।
बोर्डले हेटौंडामा शुद्ध खानेपानी आपूर्ति तथा व्यवस्थापनको जिम्मेवारी बहन गर्दै आएको छ । ६ सय २८ किलोमिटर पाइपलाइन विस्तार गरी दैनिक करिब ३ करोड ७० लाख लिटर पानी वितरण भइरहेको बोर्डका सदस्य इन्द्र नेपालले जानकारी दिए । तथ्यांक अनुसार, हाल ५ वटा स्रोतबाट पानी संकलन हुँदै आएको छ भने पानी प्रशोधनका लागि २ वटा प्रशोधन केन्द्र सञ्चालनमा छन् । आगामी दिनहरूमा बोर्डले नयाँ प्रशोधन केन्द्र निर्माण, पाइप विस्तार तथा वितरण सुधार, चुहावट नियन्त्रणलगायतका योजना अघि बढाइने बोर्डको योजना छ । साथै ग्राहकको गुनासो व्यवस्थापन तथा सेवा गुणस्तर सुधारमा समेत जोड दिने योजना सार्वजनिक गरिएको छ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले संघीय, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा चालु आर्थिक वर्षमा पूर्वाधार विकासका थुप्रै योजना सफलतापूर्वक सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा जानकारी गराइएको थियो । बोर्डका अनुसार संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहलगानीमा १५ करोड रुपैयाँको लागतमा ओभरहेड टंकी १ वटा, भूमिगत टंकी ३ वडा, डिप बोरिङ ४ वटा, पाइपलाइन विस्तार तथा विद्युतिकरण कार्य सम्पन्न गरिएको छ ।
यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नं १९ बस्तीपुरमा संघीय सरकारबाट करिब ८ करोडको लगानीमा सुरु भएको योजना अपुरो रहँदा बोर्डले थप ३ करोड रुपैयाँको लगानी गरी योजना सम्पन्न गरी सो क्षेत्रमा सेवा सुचारु गरिसकेको छ । बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौंडा वडा नं १९ मा समवेल, वडा नं १६ मा डिप ट्युबेल, त्रिशूले क्षेत्रमा ५ लाख लिटर क्षमताको भूमिगत पानी टंककी, र करिब २० किमी पाइपलाइन विस्तार कार्य सम्पन्न भइसकेको बोर्डले जनाएको छ।
खानेपानी बोर्डले हेटौंडा वडा नं ३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिबाट पूर्वाधार हस्तान्तरण गरी ९ हजार ५ सय घरधुरीमा सेवा विस्तार गरिसकेको जनाएको छ । २०८२ सालको वैशाख मसान्तसम्ममा खानेपानी मर्मत तथा संभारमा अत्यावश्यक फिटिङ सामग्री, मोटर पम्पसेट खरिदका लागि करिब ७० लाख ३० हजार रुपैयाँ खर्च गरिएको छ । हेटौंडा–१६ मा डिप ट््युबेल र भूमिगत टंकी सञ्चालनमा ल्याइएको छ । यसैगरी, हेटौंडा–१६ शक्तिमा संघीय आयोजना र बोर्डको सहकार्यमा ६ वटा ९ सय घनमिटर क्षमताका पानी संकलन टंकी, समवेल र ३ दशमलबब ५ किमी पाइपलाइन विस्तार कार्य सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन नं १ र बोर्डको सहकार्यमा थानाभरÞ्याङ सिमलटार क्षेत्रमा २ वटा समवेल, पाले घर निर्माण कार्य सम्पन्न, ४ दशमलब ५ लाख लिटर क्षमताको ओभरहेड टंकी निर्माण कार्य प्रगतिको चरणमा रहेको छ । चालु आर्थिक वर्षमा २१ किमी शाखा पाइपलाइन विस्तारको प्रक्रिया बोलपत्रमार्फत अगाडि बढाइएको छ ।
गढी गाउँपालिका–४, सामरीमा १५ लाख रुपैयाँको लागतमा २ वटा समवेल संरक्षण तटबन्ध निर्माण, हरिकुञ्ज पानी पोखरी जाने सडकको स्तरोन्नती, हेटौंडा–१५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको टंकी निर्माण । अन्य स्थानहरूमा भवन तथा पर्खाल मर्मत कार्य गरेको छ । पानी परीक्षण संघीय आयोजना मार्फत चालु आ।व।मा १५ लाख विनियोजन गरिएको र बोर्डले थप लागत साझेदारी गरेर पानी परीक्षणशालालाई स्तरीय बनाउने कार्य प्रकृया अगाडि बढाइएको बार्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा बोर्डले कर्मचारी, नियमित तथा अधिक महसुल भुक्तानीकर्ता, पानी लिकेज तथा चुहावटसम्बनधी सूचना दिने व्यक्तिलाई सम्मान गरेको छ । यस्तै बोर्डमा हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष, स्वयम्सेवीरुपमा पानी ट्यांकी सञ्चालन गर्दै आएका व्यक्तिलाई पनि बोर्डले सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा नगदसहित कर्मचारी सवईन्जिनियर प्रवीण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठसहायक दीपिका केसी र श्रृजना अर्याल, मिटर रिडर सृजना पुलामी, प्रकाश श्रेष्ठ, तारादेवी थिङ, फिल्ड सहयोगी अशोक चौलागाई, सुनिल राई र संजिव थिङ, सहयोगी किशोर पोखरेल, पम्प सहयोगी ईश्वर लामिछाने, कृष्णप्रसाद वस्ताकोटी, भुपेन्द्र सिलवाल, द्रोणकुमार धमला र पाल्साङ बल, चौकिदार तीर्थ मोक्तान, प्रकाश तामाङलाई सम्मान गरिएको छ ।
त्यस्तै नियमित तथा अधिक खानेपानी महशुल भुक्तानी गर्ने हेटौंडा सामुदायिक आँखा अस्पताल, हेटौंडा–४ पारिजातपथका तुलसीराम लामिछाने, हेटौंडा–१९, बस्तीपुरका महेशदेव भट्टराई, हेटौंडा–१८, हर्नामाडीका प्रेमबहादुर कार्की, हेटौंडा–१६ हटियाका प्रकाश पुरी, हेटौंडा–१४ बनेलधापका लक्षबहादुर थपलिया र हेटौंडा–४, हुप्रचौरका राजु शिवाकोटीलाई सम्मान गरिएको छ । पानी लिकेज चुहावट सम्बन्धी सूचना दिने तथा सरोकार वालाबीच सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न सहयोग गर्ने सूचनादाता हेटौंडा–१९, बस्तीपुरका श्याम रिमाल, हेटौंडा–१६, हटियाका बद्री दाहाल, हेटौंडा–१८, हर्नामाडीका हर्क रम्तेल, हेटौंडा–८, कमानेका रामबहादुर दुलाल, हेटौंडा–७, न्यूरेनीका सुनिल शिवाकोटी, हेटौंडा–१४, बनेलधापका कृष्णबहादुर गोले, हेटौंडा–१५, रातोमाटेका भरत निरौलालाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ । हेटौंडा–१६, हटियामा स्वयंसेवीरुपमा पानी ट्यांकी संचालन गर्दै आएका शक्तिडाँडाकी मन्जुदेवी भुजेल, घ्याम्पेडाँडाका धनबहादुर पुलामी, जरुङडाँडाका हस्तबहादुर गोले र घ्यामेडाँडा पश्चिमकी नन्दमाया थापामगरलाई सम्मान गरिएको सूचना अधिकारी संजय न्याैपानेले जानकारी दिए ।
खानेपानी संस्थानको हेटौंडास्थित कार्यालय बोर्डमा हस्तान्तरण भएपछिको पहिलो उपभोक्ता समिति हेटौंडा–१४, मयूर धापस्थित मयूरधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर थपलियालाई सम्मान गरेको छ । कार्यक्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका–२, ६ र ११ का वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोदसिंह राणाभाट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, जिल्ला उपाध्यक्ष धु्रव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्