मकवानपुर थाहा नगरपालिकाको शिखरकोटको कृष्णजात्राको अवसरमा आयोजित खुल्ला घैटो फुटाई प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको आग्रा स्पोर्टस टिमले हात पारेको छ । ११ भाद्र दिउँसो आयोजित प्रतियोगितामा आग्रा स्पोर्टसले प्रथम भएसंगै नगद ३० हजार पुरस्कार पाएको छ ।
प्रतियोगितामा द्वितीय भएको दामन समूहले नगद १३ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ भने तृतीय भएको आग्रा स्पोर्टसले नगद ७ हजार रुपैयाँ पुरस्कार पाएको निरज रायमाझीले जानकारी दिए । थाहा नगरपालिकासहित विभिन्न ८ वटा संस्थाको आयोजनामा भएको प्रतियोगिता प्रत्येक वर्ष कृष्णाष्टमीको भेलिपल्ट हुने गर्दछ ।
कार्यक्रम व्यवस्थापन गर्नका लागि आयोजकले दर्जनौ स्वयंसेवकहरु परिचालन गरिएको थियो । प्रतियोगिताहरुको लागि पहिलो पुरस्कार युवा उद्यमी रामराजा केसी, द्वितीय पुरस्कार निकेशराज ढकाल र तृतीय पुरस्कार मुकेश मिश्रले प्रायोजन गरेका थिए । पुरस्कार प्रायोजन गर्ने सबैलाई आयोजकले कदरपत्रसहित सम्मान गरेको छ ।
प्रतियोगिता अन्तर्गत अघिल्लो वर्ष बागेश्वरी युवा क्लब थाहा नगरपालिका वडा नम्बर ३ ले उपाधि चुमेको थियो । प्रतियोगितामा आग्रा समूह द्वितीय र थाहानगरपालिका वडा नम्बर–५ समूह तृतीय भएका थियो । यस वर्ष आग्राले पहिलो र तेस्रो पुरस्कार हात पारेको छ ।
यसैबीच कृष्णजात्राको अवसरमा श्रीकृष्णको रथायात्रा कार्यक्रम भएको छ । शिखरकोटको कृष्ण मन्दिर गोपाली गाउँको गणेश मन्दिर र चोकचोकमा रथ यात्रा भएको छ । गोपाली समाजका स्वयंसेवक तथा अन्य आयोजकहरु मार्फत खटिएका स्वयंसेवकहरुले भक्तजनहरुलाई पुजा आरधना गर्न सजिलो हुने गरी रथयात्रा गराएका थिए । सो अवसरमा लाखे नाच समेत प्रदर्शन गरिएको थियो ।
प्रतियोगिता अघि शिखरकोटको चुनीथानमा वृहत साँस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले आभार व्यक्त गरेका छन् । पर्वलाई व्यवस्थित गर्नका लागि आयोजना, सहकार्य, प्रायोजन गर्ने सबैलाई धन्यवाद दिदै यस ििकसमको सहकार्यका लागि निरन्तरता दिन आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले अनुरोध गरेका छन् ।
मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका थिए । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना थियो भने मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन रहेका थिए । मेला विगतका वर्षमाभन्दा यो वर्ष विशेष चहलपहलमा साथ सम्पन्न भएको छ ।
फोटोः गणेश विष्ट/विज्ञान विष्ट/पालिका प्रेस






































































गणेश विष्ट 




प्रतिक्रिया दिनुहोस्