सुर्खेतको वराहताल गाउँपालिकाकाको बड्डीचौरमा १६ करोड रुपैयाँ लागतको बृहत खानेपानी आयोजना शिलान्यास गरिएको छ । आयोजनाको वराहताल पालिका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरे । वराहताल पालिकाको ५, ६, ७ र ८ नम्बर वडाका करिब १ हजार २०० घरधुरीलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने लक्ष्यसहित आयोजना निर्माण गर्न लागिएको हो ।
आयोजनाको अनुमानित लागत कुल १५ करोड ९३ लाख ७४ हजारमध्ये ७० प्रतिशत अर्थात् ११ करोड १५ लाख ६१ हजार ८०० रुपैयाँ संघीय सरकारको अनुदानसँगै १० प्रतिशत अर्थात् १ करोड ५९ लाख ४०० रुपैयाँ उपभोक्ता आफैंले बेहोर्नुपर्नेछ । अपुग रकम नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ८०० रुपैयाँ ऋण सम्झौता गरिएको बड्डीचौर सह–लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिए ।उनले पिउने पानीको दीर्घकालीन समस्या समाधानका लागि सह–लगानीमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्किम नं. १ को शिलान्यास गरिएको बताए ।
उनका अनुसार आयोजनाअन्तर्गत स्किम नं. १ को चेपाङ, रक्सेनी, वसन्तपुर र बुटीखण्डमा आयोजना सञ्चालन हुनेछ । ‘अब निर्माण हुने आयोजनाको पहिलो मुहानबाट प्रतिसेकेन्ड साढे १० लिटर, दोस्रोबाट ३ लिटर र तेस्रो मुहानबाट प्रतिसेकेन्ड ४ लिटर दरले पानी संकलन हुनेछ,’ उनले भने, ‘यसरी प्रतिसेकेन्ड १७ लिटर पानीलाई रिजर्भ ट्यांकीमार्फत एकै पटक करिब १२०० घरधुरीलाई सहजै खानेपानी सुनिश्चित गरिनेछ ।’ पश्चिम सुर्खेतको वराहतालका नागरिकलाई स्वच्छ पिउने पानीको पहुँच पु¥याउन सहयोग गर्ने सरोकारवालाई उनले धन्यवाद दिए । आयोजना शिलान्यास कार्यक्रममा वराहताल वडा नम्बर ५ का वडाध्यक्ष तिलकबहादुर मर्सांगी मगर, ७ नम्बर वडाध्यक्ष कुलबहादुर बुचा मगर, समाजसेवी प्रेमबहादुर बस्नेत, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका इन्जिनियर महेन्द्रसिं थारु, एन्फो संस्थाका प्रतिनिधिलगायत खानेपानी संस्थाका पदाधिकारी एवं उपभोक्ताको सहभागिता थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्