नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ असार २३ गतेको बैठकले हरेक वर्ष श्रावण महिनाको १६ गतेका दिन राष्ट्रिय कोदो दिवस मनाउने निर्णय भए बमोजिम यस वर्ष “कोदोबाली संरक्षण र प्रवर्द्वन, खाद्य तथा पोषण सुरक्षा संवर्द्वन” भन्ने मूल नाराका साथ दोश्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्यताका साथ देशैभरि २०८३ श्रावण १६ गते विविध कार्यक्रमको आयोजना गरि मनाउन लागिरहेको छ ।

नेपालको प्रमुख खाद्यान्न बालीहरू मध्ये धान, मकै र गहुँ पछि क्षेत्रफल र उत्पादनको हिसावले चौथो प्रमुख  खाद्यान्न बालीको स्थानमा कोदो बाली रहेका छन् । नेपालको तराइदेखि समुन्द्री सतहबाट ३१०० मिटर सम्मको उच्च पहाडी भूभागसम्म सदियौ देखि कोदो खेती हुँदै आइरहेको देखिन्छ । कृषिको आधुनिकीकरण व्यवसायीकरण र उच्च मूल्य जाने बाली वस्तुको क्षेत्रफल विस्तार साथै हाइब्रिड वीउहरुको प्रयोग बढे सँगै पहिलेको तुलनामा क्रमश: कोदो र कोदोजन्य बालीको क्षेत्रफल घटदै गइरहेको देखिन्छ । पछिल्ला वर्षहरूको तथ्याङ्क हेर्दा नेपाली कोदो उत्पादनले आत्मनिर्भर हुन सकेको छैन । बर्सेनि कोदोको आयात बढ्दो क्रममा रहेको देखिन्छ ।

संघीय सरकार मातहत रहेका बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले कोदो तथा कोदोजन्यबाली र अन्य रैथानेबालीहरु संरक्षण, सम्वर्द्वन र प्रवर्द्वन गर्न विभिन्न स्थानीय तहहरुमा संघीय बित्तिय हस्तान्तरित (सशर्त अनुदान) कार्यक्रमहरु रैथानेबाली प्रवर्द्वन कार्यक्रम र कृषि जैविक विविधता संरक्षण कार्यक्रम संचालनमा रहेका छन् भने विभिन्न प्रदेश सरकारहरुले पनि रैथानेबाली प्रवर्द्वन कार्यक्रमलाई प्राथमिकतामा राखेर विभिन्न क्रियाकलापहरु संचालन गरिरहेको देखिन्छ । त्यसैगरि कतिपय स्थानीय तहहरुले आफ्नै आन्तरिक श्रोतबाट समेत रैथानेबाली प्रवर्द्वन कार्यक्रम कार्यान्वयन गरिरहेका छन् ।

रैथानेबाली संरक्षण र प्रवर्द्वनका विभिन्न सम्भागहरु मध्येको एउटा सम्भाग रहेको छ उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम । जुन अहिलेको अनुदान वितरण प्रणालीको माग पनि हो र कृषकहरु तथा कृषि क्षेत्रमा चासो राख्नुहुने सरोकारवालाहरुले विभिन्न बाली तथा उत्पादनहरुको उत्पादनमा आधारित प्रोत्साहन अनुदान प्रणाली लागु गर्न आ-आफ्नो ठाउँबाट आवाज समेत उठाइरहेका छन् । यसै सन्दर्भमा कतिपय स्थानीय तहहरुले आफ्नो पालिका भित्र कोदोबाली संरक्षण र प्रवर्द्वनका उत्पादनमा आधारित प्रोत्साहन अनुदानका कार्यक्रमहरु कार्यान्वयन गरिरहेका छन् । उदाहरणको रुपमा केही पालिकाहरुको विवरण तल प्रस्तुत गरिएको छ ।

मकवानपुरगढी गाउँपालिका, मकवानपुरले आ.व. ०७७/७८ साल देखि नै कोदोबालीको उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । मकवानपुरगढी गाउँपालिकाको तथ्यांक अनुसार आर्थिक वर्ष ०८२/८३ मा सहकारी मार्फत ८७३५ केजी कोदो संकलन भएकोमा प्रति केजी रु १०/- का दरले रु ८७३५०/- (सतासी हजार तीन सय पचास रुपैया) प्रोत्साहन अनुदान उपलब्ध गराएका छन् । जसबाट २० जना कृषक लाभान्वित भएका छन । त्यसैगरि कृषि प्राविधिक गोपाल लम्सालका अनुसार आर्थिक वर्ष ०८२/८३ बाट रैथाने सिमीमा समेत उत्पादनमा आधारित प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यको शुरुवात गरिएको छ । जसमा १७५०० केजी सिमी संकलन भएकोमा प्रति केजी रु १०/- का दरले १७५०००/- (एक लाख पचहतर हजार रुपैया) प्रोत्साहन अनुदान उपलब्ध गराएका छन् । यसरी सिमी खेतीमा संलग्न २८ कृषक लाभान्वित भएका छन् ।

भीमफेदी गाउँपालिका मकवानपुरले आफ्नै स्थानीय श्रोतको परिचालन गरि आ.व.०८०/८१ देखि कोदोबाली लगाएको क्षेत्रफलको आधारमा प्रोत्साहन अनुदान कृषकहरुलाई उपलब्ध गराउँदै आइरहेका छन् । भीमफेदी गाउँपालिकाको तथ्याङ्क अनुसार आ.व.०८२/८३ मा १८९७ रोपनी क्षेत्रफलमा कोदो खेती गरिएकोमा ३३८३३९४/- (तेतीस लाख त्रियासी हजार तीन सय चौरानब्बे रुपैया) प्रोत्साहन अनुदान कृषकहरुलाई उपलब्ध गराएका छन् । यसबाट १८९७ जना कृषक लाभान्वित भएका छन् । कृषि शाखा प्रमुख उज्वल रानामगरका अनुसार दुई रोपनी क्षेत्रफल सम्म कोदो खेती लगाउने कृषकहरुलाई प्रति रोपनी रु १८००/- का दरले र दुई रोपनी क्षेत्रफल भन्दा बढी कोदो खेती लगाउने कृषकहरुलाई प्रति रोपनी १६००/- का दरले प्रोत्साहन अनुदान रकम उपलब्ध गराएका छन् । यसरी क्षेत्रफलको आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराउन थालेपछी भीमफेदी गाउँपालिकामा वर्षेनी कोदोबालीको क्षेत्रफल विस्तार भइरहेका छन् ।

गोलन्जोर गाउँपालिका सिन्धुलीमा गत आर्थिक वर्ष ०८२/८३ मा संघीय बित्तिय हस्तान्तरित (सशर्त अनुदान) कार्यक्रम अन्तर्गत रैथानेबाली प्रवर्द्वन कार्यक्रम प्राप्त भएकोमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालनको लागि सिन्धुली जिल्लामै पहिलोपटक कोदोबालीको न्यूनतम समर्थन मूल्य प्रति पाथी रु १७०/- निर्धारण गरिएको थियो । गोलन्जोर गाउँपालिकाको तथ्याङ्क अनुसार निर्धारित मूल्यमा कृषकहरुबाट उत्पादित कोदो सहकारी मार्फत खरिद तथा संकलन गरि बिक्री परिमाणको आधारमा ३३३४ पाथीको प्रति पाथी रु ३०/- का दरले जम्मा रु १०००००/- (एक लाख रुपैया) प्रोत्साहन अनुदान उपलब्ध गराएका छन् । गोलन्जोर गाउँपालिका वडा नं. ३ ओख्लेमा रहेको श्री जनजागृती जुनार उत्पादन कृषि सहकारी संस्था मार्फत प्रोत्साहन अनुदान उपलब्ध गराएका छन् । यसबाट २४ जना कृषक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

यसरी कोदो खेती लगाउने क्षेत्रफल तथा उत्पादनको आधारमा प्रोत्साहन अनुदान उपलब्ध हुँदा प्रत्यक्ष रुपमा कोदो खेती गर्ने कृषकहरु लाभान्वित हुने भएकोले कृषकहरु उत्प्रेरित भई कोदोबालीको क्षेत्र विस्तार सँगै उत्पादनमा वृद्वि भई कोदो आयातको परिमाण घटाउन सक्ने देखिन्छ भन्ने कोदोबाली संरक्षण र प्रवर्द्वनमा समेट टेवा पुग्ने देखिन्छ । अगामी दिनमा पनि माथि प्रस्तुत गरिएका पालिकाहरु जस्तै अन्य पालिकाहरुले पनि कोदो खेतीको क्षेत्रफल वा उत्पादनको आधारमा प्रोत्साहन अनुदान उपलबध गराउने र कोदो तथा कोदोजन्य बालीको कच्चा पदार्थमा आधारित स-साना प्रशोधन उद्योगहरुको स्थापनामा सहयोग गरि कृषकहरुको आयआर्जनमा प्रत्यक्ष सहयोग पुग्ने खालको कार्यक्रमहरु संचालन गर्न सकेमा दोश्रो राष्ट्रिय कोदो दिवस २०८३ को मूल नारा “कोदोबाली संरक्षण र प्रवर्द्वन, खाद्य तथा पोषण सुरक्षा संवर्द्वन” सार्थक हुने थियो कि ?

  • लेखक चौधरी, गोलन्जोर गाउँपालिका सिन्धुलीमा कृषि अधिकृत (सातौ) पदमा कार्यरत छन् ।