मकवानपुरको राक्सिराङ गाउँपालिका–१, राम्चेमा दुईकोठे पक्की विद्यालय भवन निर्माण सुरु गरिएको छ । विन्देश्वरी आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा पुगेपछि नयाँ पक्की भवन निर्माणका लागि शिलान्याश गरिएको हो । अधिकांश चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा विद्यालय भवन निर्माण गर्न थालिएको हो ।
विद्यालयको भवन गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, वडाध्यक्ष, ईस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला अध्यक्ष बुद्धबीर लामालगायतले संयुक्तरुपमा भवनको शिलान्यास गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकुमार चेपाङका अनुसार २०५६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण भएपछि ईस्थर बेन्जामिन स्मृति संस्थाले २२ लाख लागतमा नयाँ भवन निर्माण गर्न लागेको हो । हाल ७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा पर्याप्त कक्षाकोठा अभावका कारण एउटै कोठामा विद्यार्थी राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक प्रेमबहादुर नेपालीले जानकारी दिए ।
विद्यार्थी करिब एक घण्टा टाढाबाट पैदल विद्यालय आउनुपर्ने अवस्था रहेको छ । भौगोलिक विकटताका कारण वर्षायाममा खोलानाला तर्न समस्या हुँदा विद्यार्थी नियमितरुपमा विद्यालय आउन नसक्ने अवस्था रहेको शिक्षक कान्छाराम चेपाङले बताए । सो विद्यालयमा इन्द्रुङ, वाराङ, थुवुङ र राम्चे क्षेत्रबाट विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । भौगोलिक विकटता, अशिक्षा र गरिबीका कारण यहाँका बासिन्दाको जीवनस्तर कमजोर रहेको छ । उक्त वडामा कुल ६०४ घरधुरी रहेका छन् ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्