चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले चन्द्रागिरि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउने भएका छन् । केबलकार सेवा प्रयोग गर्ने स्थानीयका लागि यो सुविधा लागू भएसँगै पर्यटन प्रवद्र्धन र स्थानीय सहभागिता बढ्ने अपेक्षा गरिएको छ । केबलकारको प्रवद्र्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको २३ पुसमा सम्पन्न १६औँ वार्षिक साधारणसभाले १ माघबाट लागू हुने गरी मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका तथा काठमाण्डौंको चन्द्रागिरिकाका स्थानीयवासीलाई पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो।
हाल चन्द्रागिरि केबलकार चढ्न साधारण टिकटको मूल्य ८२५ रुपैयाँ रहेको छ । नयाँ व्यवस्थाअनुसार सम्बन्धित स्थानीयवासीले यो शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यसअघि कम्पनीले केबलकारको बेस स्टेशन वरपरका एकदेखि पाँच वडाका बासिन्दालाई मात्र २५ प्रतिशत छुट उपलब्ध गराउँदै आएको थियो ।
चन्द्रागिरि हिल्सले केवलकार चढ्दा दिएको छुटमा सकारात्मक प्रतिक्रिया जनाउँदै थाहा नगरपालिकाका आर्थिक विकास समिति संयोजक हिरेन्द्र कुमार रायमाझीले यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । केवलकार हुँदै थाहानगर भित्रने आन्तरिक पर्यटकको संख्या वृद्धि हुने उनले विश्वास व्यक्त गरे । यसअघि थाहा नगरपालिकाको पनि साविक चित्लाङ हालको थाहा–९ र १० का बासिन्दाले मात्र यो सुविधा पाएकोमा नगरपालिकाको निरन्तर पहल र समन्वयपछि सबै नगरवासीलाई समेट्ने गरी छुटको व्यवस्था हुन सकेको थाहानगर प्रवक्ता समेत रहेका रायमाझीले जानकारी दिए ।
छुट प्राप्त गर्न चाहने लाभग्राहीले आफू चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका वा इन्द्रसरोवर गाउँपालिकाको स्थानीय भएको खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । साथै टिकट खरिदका क्रममा स्वयं उपस्थित हुनुपर्ने र सार्वजनिक बिदाका दिनमा भने यस्तो छुट लागू नहुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्