सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनः सहसचिव र उपसचिवको सरुवा तयारी थालेको छ । प्राप्त जानकारी अनुसार प्राविधिकतर्फसमेत गरी एक दर्जन जति सहसचिवको सरुवा तयारी हुँदै छ भने दुई दर्जन बढी उपसचिव(प्रमुख प्रशासकीय अधिकृतसहित) हरूको सरुवा गरिन लागेको हो ।
केही दिनयता मन्त्रालयमा राति अबेरसम्म उच्च पदस्थहरूको सरुवा बैठक बस्न सुरु गरेसँगै को कहाँ हुत्तिने हो भन्ने भयमा छन् कर्मचारीहरू । मापदण्ड भन्दा पनि मिलानका क्रममा जो जहाँ पनि पुग्न सक्ने भयले त्रसित बनेका कर्मचारीहरू बचाउ तथा नयाँ ठाउँका लागि भन्दै अनेक शक्तिकेन्द्रहरुमासमेत पुग्न थालेका छन् ।
पछिल्लो समय ठोस मापदण्ड बिनै कसैलाई पठाउने र कसैलाई हटाउने गरी सरुवा गरिँदा अन्यायमा परेको भन्दै मन्त्रालय धाउनेको सङ्ख्या पनि उत्तिकै छ । अन्धाधुन्ध सरुवाले मन्त्रालय नै बिथोलिइरहेको आरोप कर्मचारीहरूले लगाउँदै आएका छन् । ‘यो सरुवाको खेलो के हो मैले त बुझ्नै सकिन’, मन्त्रालयमा पुगेका एक ट्रेड युनियनका नेता रन्थनिँदै थिए, ‘किन यति सारो उथलपुथल गर्न खोजेको हो’
अहिले मन्त्रालयमा बाहिरबाट आउने अधिकांश जनप्रतिनिधि तथा कर्मचारीहरू सरुवाकै कुरा बोकेर आउने गरेका छन् । अपुग र नपुग कर्मचारीको माग गर्नु त स्वाभाविकै हो तर आफू अनुकूलकालाई ल्याउन काम गरिरहेकालाई हटाइ दिनुपर्यो भन्दै आउनेहरूको सङ्ख्यासमेत उत्तिकै छ । जसको मारमा पर्दै आएका छन् सोझा कर्मचारीहरू । राजनीतिक सोर्सफोर्स नभएका तिनै कर्मचारीहरू नै अन्ततः किनारा लगाइनु पर्ने अवस्थाले सरुवामा विकृति थप्ने काम गरेको एक कर्मचारी बताउँछन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सरुवा मात्रै नभई सङ्घीय मामिला सम्बन्धीसमेत भए पनि पछिल्लो समय नेतृत्वको ध्यान सरुवामै रुमल्लिँदा अन्य महत्त्वपूर्ण कामहरू हुन सकेका छैनन् ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्