मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उमेद्वारी दर्ता गराएका तीनदलको रोचक प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपाबीचको चुनावी माहोल थप रोचकतर्फ उन्मुख भएको हो । एमालेबाट महेश कुमार बर्तौला, नेपाली काँग्रेसबाट बुद्ध लामा र नेकपा बाट लवशेर विष्टले उमेद्वारी दर्ता गराएका छन् ।
भौगोलिक विकटता रहेको यस निर्वाचन क्षेत्रमा तामाङ, चेपाङ समुदायको बाहुल्य छ । पर्यटकीय नगरी थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका तथा मकवानपुरगढीका उत्तरतर्फका ४ वटा वडासहित गाँजाको उर्वरभूमि कैलाश, राक्सिराङ, भीमफेदी र मनहरी गाउँपालिका पर्छन् । यस क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाअन्तर्गत उत्तर पश्चिम अवस्थित १, ३, ११ र १९ नम्बर वडाहरू पर्छन् ।
२०४८ देखि हालसम्म कम्युनिस्टको गढका रूपमा रहेको यहाँ एमालेको उपस्थिति राम्रो छ । गत २०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका उम्मेदवार बर्तौलाले पूर्वएमालेका विरोध खतिवडालाई हराएका थिए । चौथो पटक यो निर्वाचन क्षेत्रबाट एमालेका उम्मेदवार बनेका विरोध गत निर्वाचनमा पराजित भएपछि आगामी निर्वाचनमा नउठ्ने घोषणा गरे । यस निर्वाचन क्षेत्रमा एमालेका महेश मात्र यहाँका पुरानै उम्मेदवार हुन् । उनी दोस्रो पटक यहाँ चुनाव लड्दै गर्दा कांग्रेस र नेकपाले नयाँ उम्मेदवार पठाएका छन् ।
बलियो संगठनको भरमा चुनावमा होमिएका उनीविरुद्ध नेकपाका लवशेर विष्ट र कांग्रेसबाट मकवानपुर सभापति बुद्ध लामा उम्मेदवार छन् । एमालेको प्रमुख सचेतक भइसकेका बर्तौलालाई कांग्रेसका लामा र नेकपाका विष्ट बलियो प्रतिस्पर्धी हुन् । जनजातिको बाहुल्य क्षेत्रमा कांग्रेसले लामालाई उम्मेदवार बनाएर जातीय मत आकर्षित गर्ने रणनीतिमा छ ।
नेकपाका विष्ट थाहा नगरपालिकाका पूर्वमेयर हुन् । उनले आफ्नो कार्यकालमा गरेका कामको अझै पनि चर्चा हुने गर्दछ । रुपचन्द्र विष्ट ‘रुदाने‘का अनुयायी विष्ट पारदर्शिता र सुशासनको पर्यायका रूपमा आफूलाई उभ्याउन खोजेको बताउँछन् । निर्माण व्यवसायमा आबद्ध रहेका विष्ट मेयर हुँदा सबै कम्पनी बन्द गरेर जिम्मेवारी सम्हालेका थिए । उनले आफ्नो कार्यकालमा थाहा नगरपालिकालाई चर्चामा राखे । उनको कार्यकालमा थाहा नगरपालिका बेरुजु फछ्र्योट, कार्यसम्पादन मूल्यांकनमा तथा सुशासनमा अब्बल बनेको थियो । विकास निर्माण, सामाजिक रूपान्तरण, शिक्षा तथा स्वास्थ्य, पर्यटन र कृषिमा उनले ल्याएका योजनाको विषयमा अझै यहाँका नागरिकमा गहिरो छाप छोडेका छन् ।
यस निर्वाचन क्षेत्रका मनहरी, कैलाश, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको छ । यी पालिकाहरूमा नेकपाका उपाध्यक्ष छन् । कांग्रेसले थाहा नगरपालिकाको उपमेयर, भीमफेदीको उपाध्यक्ष जित्दा नेकपाले थाहा नगरपालिकाको मेयर मात्र पाएको छ । इन्द्रसरोवरको अध्यक्ष, उपाध्यक्ष र भीमफेदीको अध्यक्ष एमालेको छ ।
एमालेका बर्तौलालाई जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकाले प्रभाव पार्ने देखिन्छ भने नेकपा र कांग्रेसका उम्मेदवारले मत काट्ने चुनौती कायमै छ । त्यसो त बर्तौला आफैँ यहाँका हरेक नागरिकसँग जोडिने प्रयासले उनीमाथिको चुनौती कम गरेको देखिन्छ । बर्तौलामाथिको अर्को चुनौती हो, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ । मकवानपुर–२ (ख)बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री छन् । बानियाँका विश्वासपात्र हुन्, कांग्रेस उम्मेदवार लामा । बानियाँको चुनावी रणनीतिमा मै हुँ भन्ने खेलाडीसमेत फेल खान्छ भन्ने भनाइ जिल्लामा प्रख्यात छ ।
यो क्षेत्रबाट श्रम संस्कृति पार्टीका युनिश लामा, उज्यालो नेपाली पार्टीका प्रवीण कुमार स्याङ्तान, रास्वपाका प्रशान्त उप्रेती, मंगोल नेशनल अर्गनाइजेसनका हिरालाल स्याङतान, नेशनल रिपब्लिक नेपालका सूर्य तामाङ बल, आम जनता पार्टीका सूर्य राई, नेमकिपाका सरोज तामाङ, संयुक्त नागरिक पार्टीका शुभराज प्रजा, नेकपा माओवादीका राम घलान, राप्रपाका रामबहादुर थोकर, जसपाका छविलाल वाइवा, जनमोर्चाका निरबहादुर सिन्तानले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्रबाट अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बलले उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २१ मा हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।

















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्